विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या



काठमाडौं : सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहले मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको छ ।

मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो ।

प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले हत्या गरेको हो ।

मंगलबार बिहान करिब सवा ६ बजेतिर आएका चार–पाँच जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएर लगेको खड्काले बताए । श्रेष्ठलाई घरदेखि करिब ३० मिनेट टाढाको बर्खे जंगलमा लगेर हत्या गरेको प्रहरी उपरीक्षक खड्काले बताए ।

प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले बताए ।

स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक श्रेष्ठको टाउकोमा गोली लागेको छ ।

प्रकाशित : मंसिर २३, २०७७

प्रतिक्रिया दिनुहोस्