‘राजावादीहरुको प्रदर्शन सरकारको असफलता र अकर्मण्यताको परिणाम’



काठमाडौं : प्रधानमन्त्री केपी ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा दलहरुले सरकारको आलोचना गरेका छन् । सरकारको कमजोरी तथा अर्कमण्यताका कारण देशभर जनतामा असन्तुष्टि बढेको र त्यसको परिणाम सडकमा देखिएको बैठकमा सहभागि विभिन्न दलका नेताहरुले टिप्पणी गरे । उनीहरुले केही पक्षहरुले सरकारको कमजोरीलाई आफ्नो हित अनुकूल प्रयोग गर्न थालेको बताए ।

उनीहरुले सरकारले जनतालाई चित्त बुझाउन नसकेर र संविधानलाई ठिक ढंगले लागू गर्न नसेकाले पछिल्लो गतिविधि भएको धारणा राखेका छन् । बैठकमा सहभागी नेकपाका एक नेताका अनुसार बोल्ने अधिकांश नेताहरुले पछिल्ला गतिविधि सरकारको अकर्मण्यताको उपज भएको आरोप लगाएका थिए ।

राजावादीहरुको प्रदर्शन सरकारको असफलता र अकर्मण्यताको परिणाम : दलहरु
बैठकमा नेपाली कांग्रेससहितका विपक्षी दलका नेताहरुले सरकार जनताको भावना विपरीत चलेको र जनता अपेक्षा अनुसार काम गर्न असफल भएको बताए ।

कांग्रेसका नेता डा. प्रकाशशरण महतले भने, ‘हामीले सरकार कोभिड–१९ को महामारी नियन्त्रण तथा त्यससँग जोडिएका विषयमा सरकार पूर्ण रुपमा असफल भएको बतायौँ । रोकथाम र उपचारमा नागरिकको पहुँच दिन सकेको छैन । सचेतना अभियान कमजोर भयो । स्वास्थ्यकर्मीको सुरक्षा हुन सकेन ।’

सरकारको तर्फबाट भ्रष्टाचार तथा अनियमितता, विभेदकारी एवम् लोकतान्त्रिक संविधानको मर्म विपरित कमजोर बनाउने प्रयास भएको भन्दै कांग्रेसले गम्भीर ध्यानाकर्षण गराएको उनले बताए ।

काँग्रेसले सरकारको काम कारबाही सहीरुपमा हुन नसकेको, लोकतन्त्र विरोधी गतिविधि सरकारबाटै भएको, कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको, जनभावनाअनुरुप काम गर्ने नसकेको जस्ता कारणले सरकारप्रति नागरिकमा वितृष्णा बढेको र सोही अनुरुप असन्तुष्टिका स्वरहरु सडकमा देखिएको आरोप लगाए ।

हिन्दू राज्य तथा राजसंस्थाको पक्षमा सडकमा भइरहेका आन्दोलन पनि सरकारप्रति जनताको असन्तुष्टिकै परिणाम रहेको बताएको कांग्रेस नेता डा. महतले बताए । उनले भने, ‘त्यो वर्तमान सरकारप्रतिको असन्तुष्टि हो, विभिन्न कोणबाट आ–आफ्नो हित अनुकुल प्रयोग गर्ने प्रयास भएको छ । संविधान कार्यान्वयनमा सरकारले गम्भीर त्रुटि गरेको छ ।’ यस्तै चाँडो भन्दा चाँडो संसद अधिवेश बोलाउन र संवैधानिक निकायमा पद पूर्ति गर्न पनि सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।

यस्तै राष्ट्रिय जनमोर्चाका नेता जनकराज शर्माले भ्रष्टाचार तथा अनियमितता भएको बताएको जानकारी दिए । यस्तै सरकारको कार्यशैलीका कारण अहिले विभिन्न खालका जनताका असन्तुष्टि सडकमा देखिन थालेको बताएको उनले उल्लेख गरे ।

यस्तै राप्रपाका नेता दीपक बोहोराले आफ्नो पार्टीले वर्तमान संविधानप्रति प्रतिवद्धता जनाउँदै हाल भइरहेका प्रदर्शनहरुमा नैतिक समर्थन रहेको बताएको जानकारी दिए । उनले भने, ‘हामीले यहि संविधान भित्र हिन्दू राज्य र राजसंस्थाको स्थानका सम्बन्धमा सर्वदलीय छलफल गर्न प्रस्ताव गरेका थियौँ । तर अरु कुनै दलले यसबारे कुनै कुरा उठाएनन् ।’ कोभिड महामारीमा सरकारको असफलता तथा भ्रष्टाचारबारे पनि आफूहरुले कुरा उठाएको उनले बताए ।

प्रधानमन्त्री ओलीले सबै आलोचना तथा सुझावलाई सकारात्मक रुपमा लिएको र आगामी दिनमा त्यसलाई सम्बोधन गर्ने गरी काम गर्ने बताएको नेताहरुले जानकारी दिएका छन् । तर उनले केही आरोपहरु भने आधार हिन रहेको समेत बताएका थिए ।

सत्तारुढ दल नेकपाका तर्फबाट अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु पनि सहभागी थिए, तर प्रधानमन्त्री बाहेक कोही पनि बोलेनन् ।

बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम तथा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, डा. प्रकाशशरण महत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्