नेपालसँग राजनीतिक विश्वास बढ्योः चिनियाँ राष्ट्रपति



काठमाडौं : चीनका राष्ट्रपति सी जिनपिङले नेपालसँग राजनीतिक विश्वास बढ्दै गएको बताएका छन् ।

नेपाल र चीनद्वारा संयुक्त रुपमा मंगलबार सगरमाथाको उचाई घोषणा कार्यक्रममा चिनियाँ राष्ट्रपति सीले सन्देशमार्फत नेपालमा पछिल्लो समय भएको उच्चस्तरीय राजनीतिक भ्रमणले नेपालसँग राजनीतिक विश्वास बढ्दै गरेको उल्लेख गरेका हुन ।

‘नेपालको एकता, स्थिरता र विकासका लागि चीन सहकार्य गर्न सधै तयार छ’, उनले भने । सगरमाथा नेपाल र चीनबीच अनन्य मित्रताको प्रतीक भएको बताउँदै चिनियाँ राष्ट्रपति सिले हिमाली क्षेत्रमा थप अध्ययन र अनुसन्धान गर्न र वातावरण संरक्षणका लागि नेपालसँग सहकार्य गर्ने भन्दै गत वर्षको सहमति पनि स्मरण गरे ।

यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र पढेर सुनाउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको उचाइको स्पिरिटमा नेपाल र चीनबीच धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे । पत्रमार्फत राष्ट्रपति भण्डरीले सगरमाथाको उचाइ घोषणाको दिनलाई ऐतिहासिक भएको जनाउँदै दुई देशबीचको सम्बन्ध सगरमाथा जस्तै भएको बताइन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीको नेपाल भ्रमण र आफ्नो चीन भ्रमणले दुई देशबीच सम्बन्ध थप प्रगाढ बनाएको चर्चा गरिन् ।

राष्ट्रपति भण्डारीले बहुआयामिक सीमापार सम्पर्क सञ्जाल (ट्रान्स हिमालयन मल्टिडाइमेन्स्नल कनेक्टिभिटी नेटवर्क)को ढाँचामा नेपालसँग सहयोगको रणनीतिक साझेदारीमा अघि बढ्ने गत बर्षको सहमति महत्वपूर्ण हुने पनि स्मरण गरिन् ।

प्रतिक्रिया दिनुहोस्