मोदीलाई ‘चौकीदार चोर’ भनेको छैन : राहुल गान्धी



नयाँदिल्ली : राफेल विवादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरिएको ‘चौकीदार चोर’ भनाइप्रति कांग्रेस अध्यक्ष राहुल गान्धीले दुःख प्रकट गरेका छन् । भारतीय सर्वोच्च अदालतले मोदीलाई ‘चौकीदार चोर हो’ भनेको भन्दै चुनाव प्रचार गर्दै आएका थिए । यसै विषयमा उजुरी परेपछि सर्वोच्च अदालतले राहुलसँग बयान लिएको हो ।

अदालतले मोदीलाई चोर नभनेको गान्धीले स्वीकार गरे । आफूले भन्दै आएको विषयमा गान्धीले दुःख प्रकट गरे । बयानका क्रममा चुनाव प्रचारका क्रममा उत्तेजित भएर यस्तो भनेको भन्दै गान्धीले माफी मागे । अदालतले कहिल्यै पनि ‘चौकीदार चोर हुन्’ नभनेको स्पष्ट पारे । अदालतले मंगलवार यसबारे सुनुवाइ गर्दै छ ।

भारतीय जनता पार्टी (भाजपा) सांसद मीनाक्षी लेखीले अदालतको मानहानि भएको भन्दै उजुरी दिएकी थिइन् । अदालतले गान्धीलाई २२ अप्रिलसम्म जवाफ दिन आदेश दिएको थियो । कांग्रेस अध्यक्ष गान्धीले आफ्नो निर्वाचन क्षेत्र अमेठीमा भनेका थिए, ‘म सर्वोच्च अदालतलाई धन्यवाद दिन चाहन्छु । पूरा देशले चौकीदार चोर हुन् भन्दै छ । यो दिन खुशीको दिन हो, सर्वोच्च अदालतले न्यायको कुरा गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्