प्रधानमन्त्री अाेलीकाे स्वास्थ्यमा सुधार : बालुवाटारमै बाेलाइयाे मन्त्रिपरिषद् बैठक



काठमाडौं : शुक्रबारबाट अस्वस्थ भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केही सुधार आएको छ । उनलाई शुक्रबारबाट रुघाखोकीले च्यापेको बालुवाटार श्रोतले जनाएको छ । 

 

सोही कारण शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागी हुन नसकेको प्रधानमन्त्री ओलीको स्वास्थ्य शनिबारको तुलनामा आइतबार केही सुधार आएको उनको सचिवालयले जनाएको छ । 

 

रुघाखोकीले सताएपछि प्रधानमन्त्री ओलीलाई चिकित्सकले आराम गर्न सुझाव दिएअनुसार ओली बालुवाटरमै आराम गरिरहेका छन् । 

 

‘शनिबारको तुलनामा आइतबार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही सुधार आएको छ,’ ओलीको सचिवालयले भनेको छ । यद्यपि ओलीको स्वास्थ्यअवस्थाबारे प्रधानमन्त्री सचिवालयले अहिलेसम्म आधिकारिक वक्तव्य जारी गरिसकेको छैन । 

 

प्रमको स्वास्थ्यमा सुधारआएसँगै आइतबार दिउँसो ३ः३० बजे बालुवाटारमै मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्