संसद विघटनको प्रभाव प्रदेश २ मा पनि



जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गरेसँगै त्यसको असर प्रदेश २ मा समेत परेको छ । संसद विघटन लगत्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रदेश २मा समेत अल्पमत र बहुमतको गणितीय लेखाजोखा सुरु भइसकेको छ ।

यस प्रदेशमा पनि ओली र दाहाल–नेपाल खेमा एक अर्कासँग विभाजन हुने पक्कापक्की जस्तै देखिएको हो । प्रदेश २ को प्रदेशसभामा अहिले नेकपाका ३२ जना सांसद छन् । ३२ जना मध्ये पूर्व नेकपा ९एमाले० ले २१ र नेकपा ९माओवादी० ले ११ सिट जितेको थियो । नेकपाका ३२ जना प्रदेशसभा सदस्य मध्ये ११ जना तात्कालीन माओवादीका रहेका छन् भने पूर्व एमालेको नेपाल समूहका ९ जना गरी दाहाल—नेपाल समूहमा २० र ओली समूहका १२ जना मात्र रहेका छन ।

यस प्रदेशमा ओली समूहभन्दा बढी मजबूत स्थितिमा दाहाल—नेपाल समूह देखिएको छ । पार्टी विभाजनको चर्चा सुरु भएपछि प्रदेश २ का प्रदेशसभा सदस्यहरुबीच वैचारिक खेमा समेत सुरु भइसकेको छ । प्रदेश २ मा ओली समूह प्रदेशसभा, केन्द्रीय समिति, स्थायी समिति र संघीय सांसदमा समेत कमजोर अवस्थामा रहेको छ ।

नेकपा प्रदेश २ का संयोजक प्रभु साहले भने,‘हामी ओली समूहभन्दा मजबूत स्थितिमा छौं, तर केही सदस्य खुलेर आउन नचाहेको कारण को कुन स्थितिमा छ भन्न सकिन्न ।’ अंकगणितीय हिसाबले अल्पमत र बहुमत कुन समूहमा रहेको छ भन्ने जिज्ञासामा उनले त्यो कुरा बैठक पश्चात हस्ताक्षरको आधारमा मात्रै भन्न सकिने बताए ।

प्रदेशसभा सदस्य शत्रुधन महतोले यस प्रदेशमा आफूहरुको खेमा मजबूत स्थितिमा रहेको दाबी गरे । उनले भने,‘तात्कालीन माओवादी केन्द्रका ११ र नेपाल समूहका ९ जना गरी हामी २० जना प्रदेशसभा सदस्यहरु छौं । ३ जना सदस्य अझै रहेपनि उनीहरु खुलेर आउन चाहेका छैनन् ।’

प्रदेशसभा सदस्य दिलिप साहले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर जनतालाई धोखा दिएको भन्दै आक्रोश व्यक्त गरे । उनले ओलीले लोकतन्त्र, संघीयता, गणतन्त्र र जनताको बलिदानीको कदर नै नगरी आफ्नो निजी स्वार्थ र कुर्सी जोगाउनका लागि निरंकुशता देखाएको प्रतिक्रिया दिए ।

उता नेकपा प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रतिनिधिसभा भंग गर्ने ओली र राष्ट्रपतिको कदम एकदम सही र संविधानको दायरा भित्रै रहेको दाबी गरेका छन् । उनी ओलीको विश्वास पात्रहरु मध्येका एक हुन् । त्यसैले उनी प्रधानमन्त्री ओलीको पक्षमा उभिएका छन् ।

प्रदेश २ बाट नेकपाको स्थायी समितिमा रघुवीर महासेठ, मातृका यादव, गिरिराजमणि पोखरेल र सत्यनारायण मण्डल सहित ४ जना सदस्य छन । जसमध्ये मण्डल बाहेक सबै दाहाल—नेपाल समूहकै छन । त्यस्तै ७० जना केन्द्रीय सदस्य मध्ये ६०/४० को भागबण्डाको हिसाबले २८ जना दाहाल गुटका र करीब २० जना नेपाल समूहका गरी ५० जनाभन्दा बढी दाहाल– नेपाल समूहका रहेका छन् ।

ओली पक्षका प्रदेशसभा सदस्यहरु
लगनलाल चौधरी
अनिता कुमारी यादव
सत्यनारायण मण्डल
किशोरी साह कमल
सुन्दरबहादुर विश्वकर्मा
रवीन्द्र बैठा धोवी
मनोज कुमार सिंह
मदनसेन प्रताप श्रीवास्तव
दिल्ली प्रसाद उप्रेती
नागेन्द्र राय यादव
त्रिलोकी प्रसाद
जगतारैन देवी सुडि
बेची लुंगेली

दाहाल–नेपाल पक्षका प्रदेशसभा सदस्यहरु

शत्रुधन महतो
मञ्जु कुमारी यादव
हसिमा खातुन
अशोक कुमार यादव
सीता गुरुङ
प्रमोद कुमार यादव
गोविन्द बहादुर न्यौपाने
कुन्दन प्रसाद कुशवाहा
शारदा देवी थापा
दिलीप कुमार साह
प्रमिला कुमारी यादव
रुबी कुमारी कर्ण
ज्वाला कुमारी साह
महम्मद समिर
रामचन्द्र मण्डल
फुलिया देवी सदाय
दिल्ली प्रसाद उप्रेती
भरत प्रसाद साह
रामकुमार यादव

प्रतिक्रिया दिनुहोस्