मेयरकाे मनाेमानी, नगरबासीकाे नाराबाजी



इटहरी : सडक विस्तारका क्रममा इनरुवा नगरपालिकाले मनोमानी गरेको आरोप स्थानीयले लगाएका छन् । शनिबार बिहान इनरुवामा एक कार्यक्रम गर्दै सडक विस्तार गर्न संरचना भत्काउने क्रममा भेदभाव गरेको जनाएका हुन् ।

 

इनरुवा नगरमा निर्माणाधीन स्मार्टसिटी परियोजनाअन्र्तगतको सडक ढल निर्माणका क्रममा कुनै घर जोगाउने र कुनै घर भत्काउने गरेको आरोप इनरुवावासीको छ । एउटै सडकमा ठाउँ ठाउँमा घर जोगाउनको लागि बङ्ग्याइएको र कुनै घर भने जबरजस्ती भत्काएको आन्दोलनको नेतृत्व गरिरहेका दिनेश लम्सालले जानकारी दिए ।

 

मनोमानीरुपमा घर भत्काउन खोजेपछि जिल्ला अदालतबाट निषेधाज्ञा लिएको बताउँदै उनीहरुले निषेधाज्ञापछि पनि सडक विस्तार जारी राखेको भन्दै शुक्रबार मेयर मेहताविरुद्ध अदालतको अवहेलना मुद्दा परेको छ ।

 

निवेदनमा निषेधाज्ञाको मुद्दा दायरपश्चात् पनि सडक चौडा गर्ने काम नगर्नु नगराउनू भनि अदालतबाट भएको अन्तरिम आदेशको पालना नभएको भन्दै कारवाहीको माग गरिएको छ ।

 

सोलगायत विभिन्न विषयमा नगरपालिकाको कामसँग असन्तुष्ट पक्षले शनिबार बिहान जागरुक इनरुवा नगरवासीको नाममा खुला अन्तक्र्रिया कार्यक्रमसमेत भएको छ । कार्यक्रममा बोल्दै विभिन्न व्यक्तिले मेयर मेहतामाथि स्वेच्छाचारी भएको, भ्रष्टाचार गरेको लगायतका आरोप लगाएका थिए ।

 

भगवती मावि परिसरमा तय गरिएको कार्यक्रममा प्रचारका क्रममा रहेको माइकिङलाई मेयर मेहताले प्रहरी लगाई अवरोध गरेको लम्सालले बताए । उनले अभिव्यक्ति स्वतन्त्रताको हनन् गरिएकोसमेत गुनासो गरे ।

 

कार्यक्रमलाई असफल बनाउन मेयर मेहताले इनरुवाकै अर्को ठाउँमा सखुवागाछी मालपोत–भुमिसुधार कार्यालयसम्मको बाटोको बारेमा छुट्टै छलफल सोही समयमा आयोजना गरेकोसमेत आरोप लागेको छ । तथापि कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, व्यापारी र सर्वसाधारणको उपस्थिती थियो ।

 

उक्त कार्यक्रममा उपमेयर जमुना गौतम पोखरेललगायत विभिन्न पार्टीका स्थानीय नेता कार्यकर्ताकोसमेत सहभागिता थियो । सडक विस्तारका क्रममा इनरुवा १ स्थित मुख्य बजारमा रहेको चिरञ्जीवी बस्नेतको घर र अस्पताल गेटछेउमा रहेको योगेन्द्र मेहताको घर व्यक्तिगत प्रभावमा परेर नभत्काइएको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्