युक्रेनी जनतालाई नागरिकता उपलब्ध गराउने पुटिनको घोषणा



एजेन्सी : यूक्रेनी जनतालाई रूसी नागरिकता प्राप्त गर्न सहज बनाउने बिषयमा यूक्रेनले ‘सोचिरहेको’ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। पूर्वी यूक्रेनका पृथकतावादी समूहका सदस्यलाई रूस छिर्न सहज राहदानीको व्यवस्था गरेको भन्दै कीभमा विरोध भइरहेका समय रूसी नेताले नागरिकता प्राप्त गर्नका लागि सहज कानूनको निर्माण गर्ने बताएका छन्। 

‘हामीले पूर्वी ‘लुगान्स्क र डोनेस्क गणतन्त्र’ का नागरिकलाई मात्र होइन आवश्यक परेमा र चाहेमा यूक्रेनमा बसोबास गर्ने वा यूक्रेनको नागरिकलाई पनि सरल तवरले नागरिकता दिने बिषयमा सोचिरहेका छौँ,’ बेल्ट एण्ड रोड (बिआरआई) सम्मेलनमा सहभागी हुन चीन आएका रूसी राष्ट्रपति पुटिनले भने।

यस हप्ता पुटिनले टुक्रिएका क्षेत्रमा रहेका यूक्रेनी नागरिकले रूसी पासपोर्टका लागी निवेदन दिएमा तीन महिनाभित्र राहदानी उपलब्ध गराउने आदेशमा हस्ताक्षर गरिसकेको बताइएको छ। सन् २०१४ मा किभको क्रिमियालाई रूसमा जोड्न क्रिमियाली विद्रोहीले गरेको आन्दोलनका कारण रूस र यूक्रेनबीच ठूलो युद्ध नै भएको थियो।

यूक्रेनले रूसले क्रिमियाली समूहलाई विद्रोहका लागि उक्साएको आरो यूक्रेनले लगाउँदै आएको छ भने रूसले यसमा आफ्नो कुनै प्रोत्साहन नरहेको दावी गर्दै आएको छ।  करिब पाँच बर्ष पहिले यसै विवादमा भएको युद्धका कारण १३ हजार व्यक्तिको ज्यान गएको थियो।

रूसको पछिल्लो घोषणाको यूक्रेनी क्षेत्रमा व्यापक आलोचना हुँदै आएको छ। ‘यूक्रेनी पक्षले रूसले यूक्रेनमा थप तनाव उत्पन्न गर्न चाहेको र यसै अनुरूप नागरिकतासम्बन्धी कानूनमा सुधारतर्फ अग्रसर रहेको छ,’ कीभको तर्फबाट काउन्सिल अफ यूरोपका लागि स्थायी प्रतिनिधि दिमिट्रो कुलेबा शनिबार ट्वीटमा उल्लेख गरेका छन्।

पुटिनको निर्णय यूक्रेनको नयाँ राष्ट्रपतिमा हास्य कलाकार भोलोदिमिर जेलेन्स्की निर्वाचित भएको केही दिनपछि आएको हो। जेलेन्स्कीले आगामी जुनमा पदभार ग्रहण गर्दासाथ यस समस्याले उनलाई सताउने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्