कहाँबाट, कहिले, कुन खोप ल्याउने भन्नेबारे सरकार अझै अलमलमा



काठमाडौं : अन्य मुलुकले धमाधाम (कोरोनाभाइरस) कोभिड–१९ विरुद्धको खोप उत्पादनदेखि प्रयोगसम्मको चरण पार गरिसक्दा नेपाल भने अलमलमै देखिएको छ । अहिलेसम्म कहाँबाट कुन खोप ल्याउने र कहिले ल्याउने भन्नेबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय टुंगोमा पुगिसेको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोप आयातका लागि कूटनीतिक पहल भइरहेको भएपनि यत्ति दिनभित्र खोप आइपुग्छ भनेर अहिले नै भन्न सक्ने अवस्था नरहेको बताए ।

द नेपालटपसँगको संक्षिप्त कुराकानीमा गौतमले भने, ‘अहिलेनै ठ्याक्कै भन्न सकिने अवस्था छैन, कूटतीतिक पहल भइरहेको छ । जत्तिसक्दो चाँडो आउँछ । छिट्टै यो खबर सुन्न पाउनुहुन्छ ।’

अन्य मुलुकका नागरिकहरुले धमाधम खोप पाउँदैछन्, नेपालीले कहिले पाउँछन् भन्ने प्रश्नमा आक्रमक हुँदै गौतमले ‘कुन देशका नागरिकले पाए ?’ भनेर प्रतिप्रश्न गरे ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. झलक गौतमले कोभ्याक्स सुविधाबाट ३० प्रतिशत आउने र त्यसका लागि निवेदन समेत दिइसकिएको जनाकारी दिए । उनले भने, ‘कोभ्याक्स सुविधाबाट पाइने ३० प्रतिशत कोपका लागि निवदेन हालिसकेका छौं । तर, त्योभन्दा पहिले नै सरकार आफैले पहिलो चरणको खोप ल्याउने तयारीमा छ ।’

उनका अनुसार २ देखि ८ डिग्रीको तापक्रममा भण्डारण गर्न मिल्ने खोपलाई मन्त्रालयले प्राथमिकता दिएको छ । पहिलो चरणमा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, वृद्धवृद्धा लगायतका कोभिड संक्रमण नियन्त्रणविरुद्ध खटिनेहरुलाई प्राथमिकतामा राखिएको गौतमले बताए ।

खोप खरिदका लागि आवश्यक बजेटको व्यवास्था अर्थमन्त्रालयले गरेको उनले बताए । खोप खरिदका लागि करिब ४८ अर्ब रकम लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित : पुस २०, २०७७

प्रतिक्रिया दिनुहोस्