नेकपामा एमसीसी र बीआरआइको भीडन्त छ



काठमाडौं : प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा दुई भागमा विभाजन भएको छ । नेकपामा एक समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरिरहेका छन् । नेकपा दुई समूहमा विभाजन हुनुको कारण, अब एक हुने सम्भावनाबारे र अब नेपालको राजनीति कतातिर जान्छ भन्ने विषयमा राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरसँग दनेपाल टपका संवाददाता हरि भट्टले गरेको संवादको प्रमुख अंश यहाँ प्रस्तुत गरिएको छ :

नेकपा फुट्नुको मुख्य कारण के हो ?
नेकपा फुट्नुको कारण अन्तर्राष्ट्रिय आयामको कुरा नै प्रमुख छ । इन्डो अमेरिकन लबी र चिनिया लबीबीचको जुन टकराव हो, त्यो राजनीति दलमा देखिएको हो । यो देख्दा खेरि विधि र सिद्धान्तको विभिन्न किसिमका आरोप प्रत्यारोप लगाइरहेका छन् । यसको मुल कारणमा एमसीसी र बिआरआइको भिडन्त हो ।

नेकपा पुनः एकीकृत हुने सम्भावना छ कि छैन ?
नेकपाको विभाजन सिद्धान्त, आदर्श र मूल्यको विभाजन नभएको हुनाले दुई समूहका बीचमा समाधान नहुने स्थिति देखेपछि मिलाप भयो भने त्यसलाई आश्चर्य मान्नु पर्दैन । जसरी फुट्दा खेरि विचार, सिद्धान्त मूल्य मान्यता राख्नु परेको छैन । त्यसका असरहरु अहिले वडा वडासम्म गइसकेका छन् । सरोकारवाला अलग तरिकाले गइसके ।

अहिले सिद्धान्त भनेको संवैधानिक सिद्धान्तमा आएको छ । त्यसको मुल जरो यता तिर हो । अब दोस्रो तहका नेता र तेस्रो तहका नेताहरु राजनीतिक संकटमा परेका छन् । दुईतर्फ राजनीतिक संकटमा परेका जुन नेताहरु छन् । तिनिहरुको दबाव पनि हुन सक्छ आफ्नो राजनीतिक भविष्यलाई देखेर । यो नेपालको सन्दर्भमा कस्तो छ भने राजनीति व्यवसाय बनेको छ । राजनीतिबाट फर्केर कुनै अन्य उत्पादनमा सहभागी हुने हामीकहाँ प्रचलन छैन । जस्तो कि समृद्ध देशमा एक पटक राष्ट्रपति भएका मान्छे वकालत गर्छन, क्याम्पसमा पढाउँछन् तर हामी कहाँ त्यो प्रक्रिया छैन । यसले गर्दा दोस्रो र तेस्रो तहका नेताहरुको राजनीतिक जीवन धरापमा परेको हुँदा उनीहरु त आधा गुटको पछाडि लागेका छन्, टकराव देखिएका छन् । तिनीहरुले नेता बन्ने आत्मबल देखाएका छैनन् । देखाएका पनि थिएनन् हिजोको दिनमा ।

कसैको फोटो समात्नुबाहेक केही पनि गरेका थिएनन् । हिजो नीति, विधिमा पुग्दा मौन बसेका थिए । अब अन्तर्राष्ट्रिय सक्रियता हेर्नु त उत्तर र दक्षिणको जुन अहिले संक्रियता देखिएको छ । भारतीय पक्षले अहिलेको विभाजनलाई चिनिया पक्षको हारको रुपमा भनेको छ । अब यी सबै चिजलाई देख्दा खेरी तपाईले भनेको जस्तो एकता पनि हुनसक्छ । जस्तो कि काँग्रेस फुट्यो पहिला, जन्ममा नै फुटेको थियो पछाडि जोडियो राष्ट्रिय काँग्रेस र प्रजातान्त्रिक काँग्रेस । त्यस्तै पछाडिका दिनमा काँग्रेस पनि फुट्यो प्रजातान्त्रिक काँग्रेस र काँग्रेस, फेरी एक भयो । एमाले फुट्यो फेरि जुट्यो । अब माओवादी त चिरा चिरा नै भयो । माओवादीको नाम पनि कसले लिने भन्ने विषयमा आइसक्यो । त्यसैले जुन संस्थाहरु सिद्धान्त, विचार, मूल्य मान्यताका साथ मिलेर फुट्दैनन् ती जुट्नलाई पनि समस्या हुँदैन फुट्नलाई पनि समस्या पर्दैन ।

अहिले तत्कालका लागि यसैपटक जुट्लान भन्न त सकिदैन । पछाडि आफूलाई आफ्नो औकातलाई, हैसियतलाई पुनर्मूल्यांकन हुन्छ । त्यसपछि मिलाप पनि हुन सक्छ । यो चुनावमा नराम्रोसँग धक्का हुन्छ । एक मुख्य नेतालाई हराउन अर्को मुख्य नेताहरु नै लागेका हुन्छन् । संसद्मा प्रतिपक्ष दल बन्ने सक्ने हैसियत पनि हँुदैन त्यसपछि हाम्रो उग्रता र आवेग वेकार रहेछ, हामीलाई त फुटाउने पनि अर्कोले रहेछ जुटाउने पनि अर्कोले रहेछ भन्ने हुन्छ त्यसो हुँदा केही समय पछाडि एकता हँुदा आश्चर्य मान्नु पर्दैन ।

अब नेपालको राजनीति कस्तो हुनसक्छ ?
फेरि एउटा दलदलमा फस्यो टकरावहरु अगाडि बढे, संविधानकै विषयमा पनि समस्याहरु छन् । अब जो जसलाई जन्माएकै हुँदैन, जन्माउनलाई पनि अस्वीकार गरेको छ । त्यसले रक्षा गर्ने प्रश्नै उठ्दैन । राजनीति द्वन्दहरु अगाडि हुन्छ । मलाई त लाग्छ कि दुबै कम्युनिस्ट होइनन यिनीहरु । कानुनी कम्युनिस्ट हुन यिनीहरु । द्वन्द अगाडि बढ्छ केही दिन अत्यन्तै अगाडि जान्छ । अहिले जुन कार्यालय कब्जा गर्ने, आफ्नै सरकार ढाल्ने, ढल्ने जुन अवस्था देखिरहेको छ त्यो चाहिँ भौतिक भिडन्तमा जान्छ र द्वन्दका नयाँ रुप देखिन्छन् । तर पहिलो चोटी कसको कुन गुटको मान्छे मर्ने हो त्यो अवस्था तपाई हामी पर्खेर समाचार लेख्नका लागि मानसिक तयार भएर बसे हुन्छ । स्थिति यसरी जाँदा द्वन्द चाहिँ नयाँ तरिकाले राजनीति अस्थिरता अगाडि आयो ।

संविधानका रक्षक नै भक्षक बनिरहेको कुरा अवस्था देखियो । अहिले त सिद्धान्त प्रतिपादन गर्ने समय हो । अहिले मान्छे सबै मौन बसेर पनि । अब चुनाव हुन्छ हुँदैन यो संवैधानिक हो गैरसंवैधानिक हो भन्ने देखिन्छ । लोकतान्त्रिक बर्बरतालाई न्यायिक बर्बरताले साथ दिन सक्छ । अहिले जुन अपेक्षा र अलग तरिकाका स्थिति छन् त्यो नयाँ तरिकाले देख्न सक्छौ र सुसुप्त द्वन्द भौतिक द्वन्दमा फर्किन सक्छ ।

पछिल्लो समय सम्पत्तिका विवाद पनि देखिन थालेका छन् यसलाई कसरी लिनुहुन्छ ?
हिजोका दिनका समस्या एकले अर्कोलाई कहिले पनि उठाएनन् । अपराधीकरणलाई पनि हामीले माफ दियौं । बहुलाएका बेलामा बेद पढिदैन । एकले अर्कोलाई आरोप लगाउने त्यो त अहिले एक चरण सकिसकेको छ । लगाउन कसले पो कसलाई बाँकी राखेको छ र ? एकले अर्कोलाई गर्ने गाली त राजनीतिक सिद्धान्त बनिरहेको अवस्था छ । भौतिक सम्पत्तिमाथि कब्जा गर्ने त यो स्वाभाविक हुन्छ । विभाजनका बेला शक्ति जसको जहाँ हुन्छ त्यसले लिन्छ । हिजोका बेला योजनाबद्ध वैज्ञानिक भ्रष्टाचार हुन्थ्यो । कानुनी रुपमा एउटा सिन्डिकेट तयार गर्थ्यो । त्यो सिन्डिकेडले त्यहाँ भ्रष्टाचार गर्थ्यो । सबैले त्यसलाई स्वीकार गर्थे । अहिले यो अवस्था आउनुमा के ठूलो कुरा भयो र ?

पार्टीको नाम, चुनाव चिह्नको विवाद के हुन्छ ?
देशमा कानुन र सिद्धान्त एउटा तपसिलमा परिसकेका बेला के हुन्छ भनेर राजनीतिक भविष्यवाणी गर्नु, राजनीतिक विश्लेषण गर्नु गलत हुन्छ । खेलको मैदानमा रेफ्री हुन्छन् । रेड कार्ड ग्रीन कार्डहरु देखाउँछन्, तर यहाँ राजनीति यस्तो खेल रहेछ जहाँ रेफ्रीले पनि गल्ती गरिरहेको हुन्छ । यहाँ कुनै पनि कुरा नीति, सिद्धान्त, प्रक्रिया र विधिमा चलेको छैन । त्यो नभई सकेपछि जसको हातमा लाठी हुन्छ, उसैको भैंसी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्