नेकपा विभाजित भएसँगै गुट उपगुटका खेल सुरु



जनकपुरधाम : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित भएसँगै पार्टी भित्र गुट उपगुटका खेलहरु सुरु भईसकेको छ । पार्टीको दुबै खेमा आ-आफ्नो रणनीति र तयारीका साथ राजनीतिक अभियानमा जुटेको देखिन्छ ।

अभियानकै क्रममा केहिदिन अघि दाहाल-नेपाल पक्षले जनकपुरधामस्थित पार्टी कार्यालयमा कार्यकर्ता भेला आयोजना गरेको थियो । आज (मंगलबार) फेरि त्यहि पार्टी कार्यालयमा ओली पक्षकाहरुले समेत जिल्लास्तरीय कार्यकर्ता भेला आयोजना गरिरहेको छ ।

नेकपा भित्र गुट उपगुटका खेलहरु सुरु भईसकेपछि दुबै समूहका नेताहरु आ-आफ्नो पक्षमा कार्यकर्तालाई तान्न लागिपरेको देखिएको छ । जनकपुरधाममा आज पनि दाहाल-नेपाल समूहले ओली समूहका नेता सत्यनारायण मण्डललाई संसदीय दलको नेताबाट हटाउन संसदीय दलको बैठक बोलाएको छ भने ओली समूहले आफ्ना केन्द्रिय नेताहरुलाई बोलाएर कार्यकर्ता भेलाको आयोजना गरिरहेको छ ।

भेलामा सहभागी हुनका लागि उपप्रधानमन्त्रीसमेत रहेका पार्टीको स्थायी समिति सदस्य ईश्वर पोखरेल एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतो जनकपुरधाम आएका छन् ।

त्यस्तै, दाहाल-नेपाल समूहले भने धनुषाका १८ मध्ये १७ स्थानीय तहमा आज पनि कार्यकर्ता भेला आयोजना गरिरहेको छ । जनकपुरधाम उपमहानगरपालिकामा आज ओली समूहले जिल्लास्तरीय कार्यकर्ता भेला आयोजना गरिरहेकोले यहाँ दाहाल-नेपाल समूहले दुई दिनपछि भेला आयोजना गर्ने बताइएको छ ।

कार्यकर्ता भन्दा बढि गाडीको लर्को

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो मन्त्री बनेपश्चात आज (मंगलबार) पहिलो पटक आफ्नो गृह जिल्ला आएकी छन् । उनी जनकपुरधाम आउँदा जनकपुर विमानस्थलमा कार्यकर्ता भन्दा बढि गाडीको लर्को देखिएको थियो ।

गाउँगाउँबाट कार्यकर्ताहरुलाई स्वागतका लागि बोलाउँदा समेत कार्यकर्ताहरु भने न्युन संख्यामा मात्रै उपस्थित रहेको देखियो । जनकपुर विमानस्थलमा भने उनका केही समर्थकहरुले उनलाई १ सय १ किलोको माला लगाएका थिए ।

प्रकाशितः २१ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्