प्रचण्ड र नेपालको पदलोलुप्ताका कारण पार्टीभित्र भाँडभैलो : पोखरेल



जनकपुरधाम : उपप्रधान एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी विरुद्ध खडा हुनेहरु स्वयं चकनाचुर भएर जाने दाबी गरेका छन् ।

नेकपा ओली पक्षले मंगलबार जनकपुरधाममा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै मन्त्री पोखरेलले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले पदलोलुप्ताका कारण पार्टी भित्र भाँडभैलो मचाएको आरोप लगाए ।

औपचारिक रुपले नेकपा नफुटेपनि प्रचण्ड-नेपाल समूहको गतिविधिले फुटको संघारमा पुगेको उनले बताए । उनले भने,‘प्रचण्ड-नेपाल समूहले हामीलाई दिएको धक्काबाट पाठ सिकेर अब नयाँ ढंगले निर्वाचनमा गई जनलहर सिर्जना गर्नेछौं । जनता पनि विभाजनको पक्षमा कहिल्यै जाँदैनन् ।’
उनले पार्टी एकताको तीन बर्ष नबित्दै पार्टीलाई कमजोर बनाउन पार्टी भित्रबाटै खेल सुरु गरिएको जिकिर गरे ।

प्रचण्डले एमालेसँग पार्टी एकता गरि चुनाव लडेपनि सरकार बनाउने समयमा अन्य पार्टीसँग गठबन्धन गरेको विगत कोट्याउँदै मन्त्री पोखरेलले त्यस समयमा पनि प्रचण्डले पार्टीलाई धोका दिएको आरोप लगाए । उनले त्यस समयमा पनि केपी ओलीले प्रचण्डलाई मिलाएर सरकार बनाएको स्मरण गरे ।

संसद विघटनको सम्बन्धमा नेता पोखरेलले भने,‘सरकार कुनै निर्णय गर्न चाहिरहेको बेलामा पछाडिबाट धक्का हानेर प्रचण्ड समूहले सरकारलाई काम गर्न नदिएपछि बाध्यताबस प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुभयो ।’ उनले भने,‘सरकारले निर्णय गर्ने समयमा प्रचण्डले विभिन्न झमेला गरिरहेका हुन्थे । प्रधानमन्त्री कार्यालय लगायत मन्त्रीहरुको कार्यालयमा आफ्नो मान्छेलाई नियुक्त गर्न पटक पटक दवाव दिन्थे, अनि सरकार कसरी चल्नु त रु’ पार्टी भित्रको झमेलालाई सहन नसकेर प्रधानमन्त्री ओलीले ताजा जनादेशका लागि जनतामाझ जान संसद विघटन गरेर निर्वाचनको मिति घोषणा गरेको उनको भनाइ छ ।

केपी ओलीसँग पराजित भएका माधव नेपाल फेरि ओलीसँग प्रतिस्पर्धा गर्न खोज्नु हास्यास्पद रहेको मन्त्री पोखरेलले बताए । कार्यक्रममा पार्टी स्थायी कमिटिका सदस्य एवं पूर्वमन्त्री रघुवीर महासेठले केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सक्कली पार्टी रहेको जिकिर गरे । उनले पार्टीको चुनाव चिन्ह ‘सूर्य’ आफूहरुकै रहेको दाबी समेत गरे । नेता महासेठले प्रधानमन्त्री ओलीले संसद विघटन गरि चुनावको मिति घोषणा गरेको कदम जनताको हितमा रहेको बताए ।

कार्यक्रममा शहरी विकासमन्त्री प्रभु साहले प्रचण्ड र माधव नेपाल जस्ता डेट एक्सपायर नेताहरुले पार्टी र देशलाई खाडलमा धकेल्न उद्दत रहेको आरोप लगाए । उनले भने,‘संसद विघटन प्रधानमन्त्री ओलीको बाध्यात्मक कदम थियो । अब भने नेपाली जनताका लागि चुनाव बाहेक अर्को कुनै विकल्प छैन । निर्धारित मितिमै निर्वाचन हुन्छ । त्यसैले हामीहरुलाई अब निर्वाचनको तयारीमा जुट्नुपर्दछ ।

प्रकाशित : २१ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्