कुपोषित बालबालिका मध्ये ५० प्रतिशतको मृत्यु



काठमाडौं : नेपालमा ५३ प्रतिशत कुपोषित बालबालिका मध्ये ५० प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको एक तथ्यांक सार्वजनिक भएको छ । सात वटा प्रदेशमध्ये प्रदेश २ र कर्णली प्रदेशमा सबैभन्दा बढी कुपोषीत बालबालिका रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरर्गतको पोषण शाखाका प्रमुख केदारराज पराजुलीले बताए ।

आमाले बच्चालाई राम्रोसँग स्तनपान गरायो भने मात्र कुपोषणलाई केही हदसम्म नियन्त्रण गर्न सकिने उनले बताए । उनले भने,‘कुपोषीत आमाले जन्माएका बालबालिका कुपोषीत नै जन्मिन्छ ।’

कतिपय महिलाहरु सुत्केरी भए पश्चात आफ्नो बच्चालाई स्तनपान नगराउने गरेको पाइन्छ । तर चिकित्सकहरुले भने बच्चा जन्मेको ६ महिनासम्म आमाको दुध बाहेक अन्य कुनै पनि पेय पद्धार्थ खुवाउन नहुने बताएका छन् ।

बच्चाका लागि स्तनपानले महत्वपूर्ण भुमिका खेल्ने भए पनि ५६ प्रतिशत महिलाले पूर्ण स्तनपान गराउने गरेका छन् भने २२ प्रतिशत महिलाले बच्चालाई कहिलेकाँही पानी खुवाउने गरेको पोषण शाखाले बताएको छ ।

एक वा धेरै पोषक तत्वको न्युनता वा अधिक्ताबाट शरिरमा देखिने असामान्य अवस्था नै कुपोषण हो । न्युन पोषणले बालबालिकामा पुड्कोपन, ख्याउटेपन र कम तौल जस्ता समस्याहरु देखापर्ने  प्रमुख पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस्