ओली समूहका नेताको गाडी तोडफोड



काठमाडौं : अछाममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश अध्यक्ष कर्णबहादुर थापाको गाडीमा तोडफोड भएको छ ।

थापा सुदूरपश्चिम इन्चार्ज भीम रावलको गृह जिल्ला अछाममा आमसभालाई सम्बोधन गर्न पुगेका थिए । प्रधानमन्त्रीको संसद विघटन कदमपछि दुई समूहमा विभाजित नेकपामा थापा ओली समूहमा छन् भने रावल दाहाल-नेपाल समूहमा छन् ।

समूहमा विभाजनपछि ओली समूह रावलमाथि आक्रामकरुपमा प्रस्तुत भइरहेका बेला थापा मंगलवार अछाम पुगेका थिए । उनी अछाम प्रवेश गर्दा नेकपा पार्टी कार्यालय नजिक दाहाल-नेपाल समूहका राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु युवा तथा विद्यार्थीले उनी चढेको प्रदेश ३-०१ ०२३ च ७०६९ नम्बरको गाडी तोडफोड गरेको बताइएको छ ।

अछाम प्रहरी प्रमुख डीएसपी योगेन्द्र थापाले थापा चढेको गाडीमा ढुंगा लागेको बताए । उनले भने,‘धेरै तोडफोड भएको होइन, दुई पक्षबीच झडप हुँदा जीपमा ठूलो ढुंगा लागेको हो र सिसा चर्किएको छ ।’ डीएसपी थापाले अहिले भने कार्यक्रम भइरहेको जानकारी दिए ।

‘उहाँहरु आउँदाखेरी अलि असहज परिस्थिति सिर्जना भयो । अहिले स्थिति सामान्य छ ।’ झडपपछि थापा दमाहा बजाउँदै आफ्नो समूहका कार्यकर्ताका साथ ब्यानर समातेर आमसभा स्थलतर्फ लागेका थिए ।

युवा संघका केन्द्रीय सदस्य दीपक कुँवरले असंवैधानिक कदम चालेर जनता भड्काउन आउनेहरुलाई लखेटिने चेतावनी दिए । उनले भने,‘आजको कार्यक्रम सुरुवात मात्रै हो । असंवैधानिक कदम चालेर जनता भड्काउन आउनेलाई हामी छोड्दैनौं ।’

प्रकाशित :२८ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्