मिटरब्याजी अनुरुद्धले ऋण लिएका महिलामाथि यौन शोषणका लागि दबाब दिने गरेको खुलासा



जनकपुरधाम : महोत्तरीको भंगहा नगरपालिका-५ सिद्धपुरका अनुरुद्ध साहले अन्य साहु महाजनबाट सस्तोमा तमसुक किनेर मुद्दा लड्ने र गरिबलाई शोषण गर्ने गरेको रहस्य खुलेको छ ।

भंगहा नगरपालिका-५ बस्ने ३८ वर्षकी श्यामपरी कुमारीले २ वर्षअघि छोरीको उपचारका लागि सोही नगरपालिकाको वडा नंं ३ बस्ने शिवशंकर साहको छोरा २८ वर्षीय रामलोचन साहसँग मासिक सैकडा ३ रुपैयाँ ब्याजदरमा १ लाख ५० हजार रुपैयाँ ऋण लिएकी थिइन् । मिटरब्याजी रामलोचनले लेखपढ गर्न नजान्ने श्यामपरीबाट ९ गुना बढीको कपाली तमसुक १ फागुन २०७३ कै मितिको बनाएर सहीछाप गराए ।

श्यामपरीले रामलोचनको सावाँ ब्याजसहित सबै चुक्ता गरिसकेकी छन् । तर, उनले श्यामपरीको कपाली तमसुक मिटरब्याजी अनुरुद्धलाई बेचिदिएका छन् । सोही तमसुक लिएर अनुरुद्धले जिल्ला अदालतमा २५ मंसिर २०७६ मा लिएको १२ लाख सावाँ र ब्याज ३ लाख ३८ हजारसहित १५ लाख ३८ हजार रुपैयाँ असुल उपर गरीपाऊँ भन्दै श्यामपरीमाथि मुद्दा दायर गरेका छन् ।

२० पुस २०७६ मा जिल्ला अदालतबाट श्यामपरीलाई समन आएको छ । अनुरुद्धले सो तमसुक रामलोचनबाट किनेको र सोही अनुसारको ऋण र ब्याज चुक्ता गर्न दबाब दिइरहेको श्यामपरीले बताइन् ।

‘मैले रामलोचनसँग छोरीको उपचारका लागि लिएको पैसा दुईवर्ष अघि नै तिरिदिएँ । उनले तमसुक आजभोलि भन्दाभन्दै फिर्ता गरेनन् । पछि अदालतबाट मुद्दाको समन आएपछि उनले अनुरुद्ध साहुसंँग कपाली तमसुक बेचेको थाहा पाएँ,’ श्यामपरीले भनिन्, ‘घरमा आएर रामलोचनले सबै पैसा तिर्नुपर्छ भन्दै धम्काउँछ । कसैले बचाउँदैन भन्छ । रामलोचनसँग लिएको सबै पैसा चुक्ता गर नत्र भएभरको सम्पत्ति लिलाम गर्छु भन्छ ।’

श्यामपरीका पति वैदेशिक रोजगारको क्रममा साउदी अरबमा छन् । रामलोचन र अनुरुद्धको जालमा परेकी श्यामपरी गाउँसमाजका भद्रभलादमी गुहारिरहेकी छन् । भंगहा नगरपालिका ५ का २५ वर्षीय मनोज सदा ६ वर्षअघि वैदेशिक रोजगारीमा जाने तयारीमा थिए । नगरपालिकाकै सिंगियाहीमा बस्ने निरसु यादवको छोरा एजेन्ट सन्त यादवले १ लाख ५ हजारमा मनोजलाई साउदी अरब पठाउने भए । आर्थिक अवस्था कमजोर भएका मनोजले साहुमहाजनबाट जसोतसो चर्को ब्याजदरमा ऋण काढेर ७५ हजार रुपैयाँ मात्र एजेन्ट सन्तलाई दिन सके । ३० हजार रुपैयाँ पु¥याउन सकेनन् ।

विदेश उड्नु ३ दिनअघि एजेन्ट सन्तले ५ चैत २०७१ को मितिमा ३० हजारको तीनगुणा बढी ९० हजारको कपाली तमसुक मनोजसँग काठमाडौमै गराए । एकवर्षभित्र सावाँब्याज फिर्ता गर्नुपर्ने भाखा उल्लेख गराए ।

एक वर्षपछि चर्चित मिटरब्याजी अनुरुद्ध साह मनोजको घर पुगे । छोरोले विदेश उड्नुअघि बाँकी रहेको सन्त एजेन्टको ९० हजार रुपैयाँ तिर्न धम्की दिए । मनोजकी आमा तेतरीदेवी सदा ३० हजार रुपैयाँ तिर्न तयार भइन् । तर, अनुरुद्धले आफूले तमसुक किनेको देखाउँदै ९० हजार नै तिर्नुपर्ने बताए ।

‘पटकपटक घरमा आएर मुद्दा हालेर भएको सम्पत्ति लिलाम गर्छु भनेर धम्क्यायो । हामीले नतिरेपछि उनले महोत्तरी जिल्ला अदालतमा मुद्दा दायर गरिदिए,’ तेतरीदेवी भन्छिन् । अनुरुद्धले २०७२ मा महोत्तरी जिल्ला अदालतमा एजेन्ट सन्तबाट मुद्दा दर्ता गराए । अदालतले २० मंसिर २०७३ मा सावाँब्याजसहित मनोजको सम्पतिबाट असुल गर्न आदेश दियो । मनोज पुनः घर फर्केर अहिले वैदेशिक रोजागरीमा भारत गएका छन् ।

‘वकिलले अहिले घर बस्न भनेको छ । तर हामीलाई चिन्ता छ, घरघडेरी लिलामको,’ तेतरीदेवीले कागजात देखाउँदै भनिन्, ‘मिटरब्याजी अनुरुद्धले यस्तै कपाली तमसुक सस्तोमा किनेर, चर्को ऋण लगानी गरेर धेरैलाई उठिबास गरिदिएको छ । हामीलाई पनि त्यस्तै गर्न लाग्यो ।’ यति मात्र होइन, मिटरब्याजी अनुरुद्धले ऋण लिएका महिलामाथि यौनशोषणका लागि दबाब दिने गरेको समेत खुलासा भएको छ ।

श्रीमानलाई चर्को ब्याजमा सावाँको २४ गुणा बढीको तमसुक बनाएर विदेश पठाउने र तिनका श्रीमतीलाई शारीरिक सम्बन्ध राख्न धम्की दिने गरेको पीडितहरुले बताएका छन् । तीन वर्षअघि भंगहा नगरपालिका ५ सीतापुरकी ३५ वर्षीया सविरा खातुनले श्रीमान् अल्ला उदिन कवाडीलाई विदेश उडाउन साहु अनुरुद्धसंग मासिक सैकडा ३ रुपैयाँ अर्थात ३६ प्रतिशत ब्याजदरमा ५० हजार ऋण लिएकी थिइन् ।

श्रीमान विदेश गएको केही दिनपछि सविरालाई अनुरुद्धले तमसुक बनाउन बोलाए । लेखनदासबाट मिटरब्याजी अनुरुद्धले ५० हजारको २४ गुणाबढी १२ लाखको तमसुक लेखाएर सविरासँग सहीछाप गराए । अनपढ सविराले के कतिको कागज लेखाए, चाल पाइनन् ।

पति विदेश गएको ६ महिनामै उनले लिएको ऋणको सावाँब्याज तिरिन् । तर, अनुरुद्धले तमसुक फिर्ता दिएनन् । उनले अरु धेरै पैसा बाँकी भन्दै सविरालाई पटकपटक यौनसम्बन्ध राख्न दबाब दिए । सबिराले अस्वीकार गरिन् । उनले यो कुरा विदेशमा रहेका पतिलाई पनि जानकारी दिइन् । अनुरुद्धले आफैँ शारीरिक सम्बन्ध नराखे अन्य महिला वा केटी मिलाइदिए ऋण माफ गरिदिने पटक पटक प्रस्ताव गरे । तर, सविराले अस्वीकार गरेपछि दुई वर्षअघि अनुरुद्धले उनीविरुद्ध मुद्दा दायर गरे ।

सविरा २ वर्षदेखि तारेख धाउँदै छिन् । घर भएको १० धुर घडेरी बचाउन सविरा अन्य साहुमहाजनबाट १३ लाख रुपैयाँ लिएर अनुरुद्धलाई तिर्न तयार भइन् । तर, अब १८ लाख तिर्नुपर्ने, नत्र घडेरी लिने धम्की अनुरुद्धले दिइरहेका छन् । ‘म अनपढ मान्छे। मलाई के थाहा ५० हजारको १२ लाखको तमसुक बनाउँछ भनेर,’ सविरा भन्छिन्, ‘मैले दुईपटक गरी ५० हजारको साँवाब्याज तिरिसकेकी छु । मलाई शारीरिक सम्बन्ध राख्न पटक पटक दबाब दियो । अस्वीकार गरेपछि अन्य महिला वा केटी खोजदिन भन्यो । त्यो पनि नगर्ने भनेपछि मेरो घडेरी लिलाम गर्न लागेको छ ।’

अनुरुद्धले अरु पनि सोझा महिलाहरुलाई नक्कली तमसुकको आडमा शारीरिक सम्बन्धका लागि दबाब दिने गरेको सविराले बताइन् । तर, इज्जतको कुरा भएकाले महिलाहरु बाहिर नबोल्ने गरेको उनको भनाइ छ ।

प्रकाशित :२९ पुष, २०७७

प्रतिक्रिया दिनुहोस्