कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ



धनगढी : कैलालीको गोदावरी नगरपालिका-५ गेटास्थित सामुदायिक वनबाट प्रहरीले अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका २३ वर्षीय किरण बोहरालगायत ५ जना छन् । उनीहरुको साथबाट प्रहरीले करिब ६ ग्राम ६ सय ६६ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन बरामद गरेको छ ।

उक्त जङ्गलमा लागूऔषध ओसारपसार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले खैरो हेरोइनसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै, सप्तरीको राजबिराज नगरपालिका-१ चनौरापुलबाट अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिरुहुत गाउँपालिका-४ धपाटोल बस्ने २८ वर्षीय पृथ्वीराज यादव छन् ।

प्रहरीले उनको साथबाट २ सय ५० ग्राम अवैध लागूऔषध गाँजा, नियन्त्रित लागूऔषध ९४ पीस स्पामोपरिभ क्याप्सुल, १५ पिस नाइट्रोभेट र १ बोतल डाइलेक्स डिसी बरामद गरेको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र अस्थाई प्रहरी पोष्ट राजदेवीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित :२ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्