काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा भोला थापा



काठमाडौं : काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.भोला थापा नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले थापालाई उपकुलपतिमा नियुक्त गरेको हो । थापा विश्वविद्यालयका पूर्व रजिस्टार हुन् ।

विश्वविद्यालय स्रोतका अनुसार थापालाई नियुक्तिका लागि पत्र तयार भएको छ । त्यसका लागि थापा काठमाडौं आउने भएका छन् । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा बनेको सिफारिस समितिले थापासहित तीन जनाको नाम सिफारित गरेको छ ।

जसमा हालका उपकुलपति रामकण्ठ माकजु र बालचन्द्र लुँइटेलको नाम सिफारिस गरिएको थियो । थापा काठमाडौं विश्वविद्यालको तेस्रो उपकुलपति हुन् । संस्थापक उपकुलपतिमा सुरेशराज शर्मा रहेका थिए ।

३ सदस्यीय सिफारिस समितिमा संस्थापक उपकुलपति शर्माको अतिरिक्त पूर्व सभामुख तथा विश्वविद्यालयका बोर्ड सदस्य दमनाथ ढुंगाना पनि रहेका थिए । माकजु दुई कार्यकाल उपकुलपति भइसकेको भन्दै प्राध्यापक तथा कर्मचारीहरुले उनलाई नदोहोर्याउन सरकारसँग माग गरेका थिए ।
त्यस्तै, नव नियुक्त उपकुलपति थापा काठमाडौँ विश्वविद्यालका मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन् ।

यसअघि उनी विभागका प्रमुख, डिन, रजिस्टार र कार्यवहाक उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए । उनले सन् २००४ मा नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीबाट मेकानिकल इन्जिनियरिङमा विद्यावारिधि गरेका थिए ।

यसअघि भारतको पिलानीस्थित बिरला इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीबाट मास्टर्स र पञ्जाव इन्जिनियरिङ कलेजबाट बीई गरेका थिए । सन् १९९४ बाट उनले काठमाडांै विश्वविद्यालयमा सेवा सुरु गरेका छन् ।

प्रकाशित :७ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्