आन्दोलन र चुनाव जसपालाई अवसर र चुनौती दुवै : अध्यक्ष ठाकुर



काठमाडौं । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले नेकपाले देशमा स्थिर सरकार नदिएको टिप्पणी गरेका छन् । जनताले आफ्नो प्रतिनिधि पाँच वर्षका लागि चुनेको भएपनि तीन वर्षमै भंग गरेको टिप्पणी गर्दै उनले जनताको प्रधानमन्त्री केपी ओलीले जनादेशलाई अपमान गरेको आरोप लगाए ।
जसपा नेपाल र नेपाल लोकतान्त्रिक पार्टीबीच काठमाडौंमा भएको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको आन्दोलन केका लागि ? त्यो कुरा स्पष्ट हुनुपर्ने कुरामा जोड दिए ।
‘सर्वप्रथम यो संविधान नै अपूरो छ’, उनले भने, ‘मधेशी, आदिवासी, जनजातीलाई संविधानमै विभेद गरिएको छ र त्यसलाई अन्त्य गर्ने काम हालसम्म भएको छैन ।’ उनले थपे, ‘प्रतिनिधिसभा विघटनको विषय अदालतमा पुगेको छ, यदि प्रतिनिधिसभा पुनःस्थापना भयो भने सत्ता कसको हातमा जान्छ ? जसले विघटन ग¥र्यो उसैको हातमा जान्छ र त्यसपछि त्यो द्वन्द्व कायम नै रहन्छ ।’
देश चुनावतिर गयो भने ओलीको कदम सही रहेको कुरा पुष्टि हुने बताउँदै उनले त्यस अवस्थामा पनि आफूहरुको आन्दोलन भइरह्यो भने अदालतको विरुद्धमा जसपा नेपाल गयो भने सन्देश जाने बताए । यसरी हेर्दा देश ठूलो संकटको अवस्थामा गुज्रिरहेको बताउँदै उनले यसलाई जसपा नेपालले अवसर र चुनौती दुवै रुपमा लिनुपर्ने बताए ।
सोही कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर प्रतिगमनको ढोका खोलेको बताए ।
प्रतिनिधिसभा विघटनको बारेमा प्रधानमन्त्री ओलीले तीन कुरा गरेको बताउँदै अध्यक्ष यादवले भने, ‘प्रधानमन्त्री ओलीले शुरुमा पार्टीमा विवाद भएको कारणले यो कदम चलेको, अनि पछि यो संविधान अनुसार नै कदम चालेको भन्नुभयो । पछि त देशको रक्षाका लागि यो कदम चालेका भन्नुभयो, यो कदम किन र कसरी चाल्नु भयो त्यो प्रधानमन्त्री ओलीलाई नै स्पष्ट छैन ।’
‘देशको राजनीति अग्रगमको रुपमा अगाडि बढ्छ । तर माथि गएपछि लुडोमा सर्पले खाएपछि तल झरेजस्तै नेपालको राजनीति पटक पटक तल झरेको छ’, उनले बताए । २००७ सालदेखि नै त्यस्तै हुँदै आएको र अहिले पनि त्यही खेल शुरु भएको उनले बताए ।
उनले प्रतिनिधिसभा पुनःस्थापना भएपछि संविधान संशोधन गर्ने बताउँदै उनले यसका लागि सबै दल एक भएर लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्