सुदूरपश्चिमको १० ठाउँमा तोकियो खोप केन्द्र, १६ हजारमा लगाउने तयारी



धनगढी : सुदूरपश्चिम प्रदेशको १० ठाउँमा कोरोनाविरुद्धको केन्द्र तोकिएको छ । ती केन्द्रबाट माघ १४ देखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।

पहिलो चरणमा माघ १४ देखि १८ गतेसम्म प्रदेशका सबै जिल्लामा खोप लगाउने कार्यक्रम रहेको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए । संघीय सरकारले सुदूरपश्चिमका १६ हजार २९३ जनालाई लगाउन मिल्ने गरी खोप पठाएको छ ।

डा. अवस्थीले भने, ‘उक्त खोप सोमबार प्रदेशमा पुग्ने र प्रदेशले मंगलबारदेखि जिल्लामा पठाउन सुरु गर्छ ।’ पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई दिइने बताइएको छ ।

‘संघीय सरकारको निर्देशनअनुसार पहिलो चरणमा अग्रपंक्तिमा अटिएका व्यक्तिहरुलाई खोप दिन लगाएको हो,’ डा.अवस्थीले भने, ‘खोप उपलब्ध भएमा दोस्रो चरणदेखि समुदायस्तरका सबै व्यक्तिलाई खोप लगाउँछौं ।’ खोप लगाउनको तथ्यांक संकलन गरिएको भए पनि स्वेच्छिकबाहेक कसैलाई पनि बाध्यकारी नहुने जनाइएको छ ।

पहिलो चरणको खोप लगाउनका लागि सामाजिक विकास मन्त्रालयले १० वटा खोप केन्द्र तोकेको छ । कैलालीको सेती प्रादेशिक अस्पताल र टीकापुरलाई खोप केन्द्रका रुपमा तोकेको छ । प्रदेशका अन्य जिल्लाको हकमा भने जिल्ला अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

प्रकाशित :१२ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्