शरद गौचन हत्या प्रकरण: ‘मूख्य सूटर’ सहित तीनजना पक्राउ



काठमाडौं : व्यवसायी शरदकुमार गौचनलाई गोली हानी हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

अमर रानामगर, लोप्साङ लामा र रोशन बुढाथोकीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार कोटेश्वरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार अभियूक्त अमर रानामगर नै शरदका मूख्य सूटर थिए । तीनै जना अभियुक्तलाई प्रहरीले आजै सार्वजनिक गर्ने भएको छ ।

 

यसअघि जिल्ला अदालत काठमाडौँले निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्यामा संलग्न नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइसकेको छ ।

 

न्यायाधीश बाबुकाजी बाँनियाको इजलासले २०७४ माघमा थुनछेक बहसपछि नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने र दुई जनालाई धरौटी छाड्ने आदेश दिएको थियो ।

 

अदालतले गौचनको हत्याका मुख्य नाइके समिरमानसिंह बस्नेतसहित हत्यामा संलग्न राजीव स्याङ्तान, शिवजी महतो कमकर, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी, बसन्त थेवे, धनराज योङहाङ र सूर्यबहादुर बाजीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । अदालतको आदेशमा राजकुमार साह रौनियार र श्याम गुप्तालाई धरौटीमा रिहा भइसकेका छन् ।

 

गौचनको गत असोज २३ गते बानेश्वरमा गोली हानी हत्या भएको थियो । यसअघि गौचनको हत्या अभियोग लागेका रुपन्देहीका मनोज पुन प्रहरी इन्काउन्टरमा मारिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्