जापानिज इन्सेफलाइटिसविरुद्ध खोप



डोटी : जिल्लामा जापानिज इन्सेफलाइटिस खोप अभियान सञ्चालन हुने भएको छ। मस्तिष्कमा गम्भीर प्रकारको सङ्क्रमण हुने भएकाले यस रोगबाट बच्न  जिल्लाका एकदेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई जेइ भ्याक्सिन लगाइन लागेको हो। अहिलेसम्म डोटीमा जापानिज इन्सेफलाइटिसका बिरामी नभेटिए पनि यो रोगबाट बच्न यही वैशाख २६ गतेदेखि खोप अभियान सञ्चालन हुन लागेको जिल्ला अस्पताल डोटीले जनाएको छ।

जिल्लाको निर्वाचन क्षेत्र नं १ मा वैशाख २६ गते तथा क्षेत्र नं २ मा जेठ ६ गतेबाट उक्त खोप अभियान शुरु हुनलागेको र सम्पूर्ण तयारी पूरा भइसकेको जिल्ला अस्पताल डोटीका खोप सुपरभाइजर रामस्वार्थ यादवले जानकारी दिए। उनले भने, “जापानिज इन्सेफलाइटिस हुन नदिन जिल्लामा खोपको अभियान सञ्चालन गर्ने भएका छौँ, खोपको सम्पूर्ण तयारी करीब करीब अन्तिम चरणमा पुगेको छ।”

डोटीमा यो रोगको सङ्क्रमण नभए पनि छिमेकी तराईका जिल्लाबाट भित्रिनसक्ने भएकाले आ–आफ्ना बालबालिकालाई नजिकको खोप केन्द्रमा गई खोप लागाउन सम्पूर्ण जिल्लावासीलाई यादवले आग्रह गरे। जेइ भाइरस भएका चराचुरुङ्गी, सुँगुर, बङ्गुरजस्ता जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा सर्ने यो रोग विशेषगरी तराईका जिल्लामा देखिने गरेको छ।

अहिलेसम्म सुदूरपश्चिमका डडेल्धुरा, बाजुरा, दार्चुलालगायत १० जिल्लामा यो रोगका बिरामी देखापरेका छैनन् भने बिरामी भएकामध्ये ७२ प्रतिशत तराई तथा २८ प्रतिशत बिरामी हिमाली तथा पहाडी जिल्लामा देखापरेकोे बताइएको छ। संसारमा हरेक वर्ष ५० हजारमा यो रोग देखिने गरेको तथा १० देखि १५ हजार बिरामी मर्ने गरेको एक अध्ययनले देखाएको छ। विसं २०७२ मा नेपालमा  १३८ मा यो रोग देखापरेको थियो।

प्रतिक्रिया दिनुहोस्