ओलीलाई पशुपतिले पनि जोगाउँदैन : रघुजी पन्त



काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तले प्रधानमन्त्री ओलीले झुटसमेत स्थिर रुपमा बोल्न नसक्ने गरेको बताएका छन् । उनले एउटै भाषणमा ओलीले आफ्ना कुराको खण्डन गर्ने गरेको भन्दै उनका झुट पनि बिक्न छाडेको बताए ।
‘म ओलीको आलोचना गर्दिनँ, किन भने अस्ति ओलीले नारायणहिटीको दक्षिण गेटमा आँसु झार्नुभयो, अझै आलोचना गरे पश्चिम गेटतिर गएर आँसु झार्नुहोला,’ पन्तले भने, ‘ओलीजी कुरा नफेर्नुस् जनताले तपाईंको झुट बुझिसके । नारायणहिटी गेटमा उभिएर अस्ति भन्नुभयो । यो सरकार बनेपछि जस्तो विकास कहिल्यै भएको थिएन । अनि फेरि भन्नुभयो मलाई प्रचण्ड–माधव नेपाल र अरुले हात खुट्टा बाँधेर काम गर्ने दिएनन् ।’
प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौं गरेको आम सभामा उनले प्रतिनिधिसभा विघटन गरेर रुद्राक्षको माला लाएर पशुपति जाँदैमा सत्ताको रक्षा नहुने चेतावनी दिए । ‘प्रतिनिधिसभा विघटन गरेपछि रुद्राक्षको माला लगाएर पशुपति जानुभयो । ओलीजीले के माग्नुभयो थाहा छैन । तर ३० करोडको सुनको जलप लगाउने घोषणा गर्नुभएको छ,’ पन्तले भने, ‘म यतिबेला राजा वीरेन्द्रलाई सम्झन्छु । उनले सधैं बोलिसकेपछि भन्ने गर्थे श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । सधैं पशुपतिनाथसँग गुहार माग्ने राजा वीरेन्द्रको वंशनाश भयो । तपाईंलाई कसले जोगाउँछ होला ?’
उनले ओलीलाई नबोल्ने पशुपतिनाथलाई होइन बोल्ने पशुपतिनाथहरुलाई खुसी पार्न सुझावसमेत दिए ।
यस्तै नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीले जनताको संघर्षबाट प्राप्त उपलब्धिलाई कुर्सीसँग साटेको आरोप लगाए ।
उनले अधिकार रक्षाका लागि जनता विद्रोहमा उत्रिने अवस्था आउनसक्ने बताए । सडकबाट संघीयता खारेज हुन नसक्ने बताउँदै प्रतिगमनविरुद्ध सबै जनता जाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्