ओली राजनीतिक र सैद्धान्तिक रुपमा पराजित : झलनाथ खनाल



काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले अब जनआन्दोलनको आगो दन्कने चेतावनी दिएका छन् । नेता खनालले प्रतिक्रान्तिविरुद्ध अब अर्को क्रान्ति गर्ने बताए ।
भृकुटीमण्डपमा बुधबार आयोजित नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध सभामा बोल्दै उनले भने, ‘अब जनआन्दोलनको आगो दन्कनेछ ।’ खनालले भने,‘यो दुईवटा गुटको आन्दोलन होइन, प्रतिक्रान्तिविरुद्धको अर्को क्रान्ति हो ।’ खनालले ओली राजनीतिक र सैद्धान्तिक रुपमा पराजित भइसकेको तर्क गरे ।
ओली राजनीतिक रुपले पराजित भइसकेकाले पशुपतिनाथको शरणमा पुगेको उनले टिप्पणी गरे । उनले भने,‘ओली राजनीतिक रुपले पराजित भइसके । पशुपतिनाथमा गएर संकल्प पूजा गर्ने अवस्थामा पुगिसके ।’ ओलीले विज्ञान र माक्र्सवादमा विश्वास गर्न छाडेको उनको भनाइ छ ।
निर्वाचन आयोगलाई नेकपाको आधिकारिताबारे छिटो छिनोफानो गर्न आग्रह गर्दै नेता खनालले ढिलो गर्दा अप्ठ्यारो आउनसक्ने बताए ।
निर्वाचन आयोगलाई पनि आधिकारिक नेकपा भनेको कुन भनेर सकस परेको बेलामा आजको भेलाले सहज हुने उनले बताए । ‘निर्वाचन आयुक्तहरू आउनुहोस् हेर्नलाई को हो आधिकारिक पार्टी’ उनले भने, ‘ओलीलाई भन्न चाहन्छु दुई चार हजार मान्छेलाई राखेर दुई तिहाई बहुमत ल्याउँछु चुनाव गराउँछु भन्ने ।’
दुई वर्षपछि कहाँ कसले बहुमत ल्याउँछ हेर्न पनि उनले आग्रह गरे । अबको बाटो भनेको समाजवादको रहेको उनले बताए ।
अहिलेको संघर्ष नेकपाको दुई गुटका मात्रै नभएको ओलीको पुस ५ को प्रतिगमनविरुद्ध भएको स्पष्टीकरण दिर्दँै खनालले कांग्रेस र जसपा लगायत सबै दललाई समाजवादको लक्ष्यमा पुग्नका संयुक्त आन्दोलनमा जान आह्वानसमेत गरे ।
खनालले आगामी दुई वर्षपछि हुने चुनावमा केपी शर्मा ओलीको जमानत जफत हुने पनि दाबी गरे । ‘मिस्टर केपी ओली तपाईंको खुट्टी देखेरै पत्यायौँ, दुई वर्षपछि चुनाव हुन्छ, त्यो चुनावमा केपी ओलीको जमानत जफत हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्