गुटको वा बालकोटको ओली प्रथम अध्यक्ष होलान् तर, नेकपाको होइन : माधवकुमार नेपाल



काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै पाप गर्नेलाई पशुपतिले पनि माफ नगर्ने बताएका छन् ।
काठमाडौंमा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘पाप गर्नेलाई पशुपतिले पनि माफ गर्दैनन्, चेतना भया । केपीको पाप बत्ति बालेर कसैले पनि पखालिदैन ।’
‘केपीजी, तपाई त मदन भण्डारीको नाम जप्नु हुन्थ्यो । आजकल पशुपतिनाथको नाम जप्न थाल्नुभएको छ । तर एउटा कुरा याद गर्नुस्–पशुपतिनाथले पनि पाप गर्नेलाई भलो गर्दैनन् । चेतना भया,’उनले भने ।
ओलीलाई बलात्कृत भएको महिलाले पनि सरापिरहेको उनले आरोप लगाए । ओलीले भ्रष्टाचारको कार्यक्रम गरेर मान्छेलाई भाडामा ल्याउँदा समेत केही हजार मान्छे मात्रै उनीसँग भएको अध्यक्ष नेपालले दाबी गरे ।
ओली बहुमतको शासन मान्न तयार नभएको बताउँदै निर्वाचन आयोगको पत्रअनुसार आफ्नो पक्षमा तीन सय रहेको र ओलीको पक्षमा एक सय मात्रै रहेको उनको दाबी छ ।
नेपालले विधानदेखि पार्टीको दस्तावेज र निर्णयमा कतै पनि ओली पहिलो अध्यक्ष भनेर नलेखिएको प्रष्ट पारे ।
ओली कसैले नजिताए पनि ताज लगाएर हिँडेको भन्दै निर्वाचन आयोगलाई दस्तावेज हेरेर मात्र अगाडि बढ्न उनले सुझाव दिए । ओलीले धम्क्याएको भरमा निर्णय नगरी दस्तावेज, निर्णय र विधान हेर्न सुझाव दिँदै नेपालले त्यसमा शंका लागि ४४१ जनालाई बोलाएर टाउको गन्न आयोगलाई चुनौती दिएका छन् ।
‘ओलीले निर्वाचन आयोगमा गएर पार्टीको पहिलो अध्यक्ष भनेर धम्काए छन् । ओली गुटको र बालकोटको प्रथम अध्यक्ष होलान् । तर, नेकपाको होइन’ उनले भने, निर्वाचन आयोग अगाडि बढाइरहेको प्रक्रियमा हस्तक्षेप गर्न थालिरहेका छन् ।’
कसैले नदिएको ताज पहिरिएर ओली आफै राजा भएर हिँडेको उनको आरोप छ ।
नेपालले ओलीलाई ओली फाउन्डेसनको अध्यक्ष बन्न सुझाव दिए । उनले भने, ‘ओली फाउसडेसन वा समूहको अध्यक्ष बन्नुस् । मेरो सुझाव ग्रहण गर्दा राम्रो होला ।’
आफूहरुले नै गणतन्त्र ल्याएको भन्दै ओलीलाई गणतन्त्र, संघीयताको माया नभएको नेपालले बताए । ओली प्रतिगमनका प्रतीक भएको र ज्ञानेन्द्रपथमा अगाडि बढिरहेको आरोप उनले लगाए ।

प्रतिक्रिया दिनुहोस्