चुनाव गराउनका लागि घोषणा गरिएको होइन : नारायणकाजी श्रेष्ठ



काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली ‘फासीवादी’ भएको आरोप लगाएका छन् । बुधबार काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले नेपालमा ओलीले फासीवादको अभ्यास गरिरहेको जिकिर गरे ।
‘केपी ओली फासिस्ट हुन् । केपी ओलीले नेपालमा फासिवादको अभ्यास गर्दैछन्,’ उनले भने,‘हामी नेपालमा कुनैपनि हालतमा फासीवाद सहने छैनौं ।’
नेकपा सचिवालय सदस्य समेत रहेका श्रेष्ठले आफूहरुलाई संविधान विरोधी संविधान नचाहिएको बताए । ओलीले चुनाव गर्नको लागि घोषणा नगरेको उनको दाबी छ । ‘संविधान विरोधी चुनाव हामीलाई चाहिएको होइन । यो चुनाव केपी ओलीले वास्तवमा गर्नको लागि घोषणा गरेका होइनन् । संविधार र लोकतन्त्रविरोधी चुनावको हामी धज्जी उडाउँछौं,’ उनले भने ।
नेता श्रेष्ठले संयुक्त आन्दोलनका लागि जनता समाजवादी पार्टी, नेपाली कांग्रेस लगायतका राजनीतिक दलसँग छलफल गरिरहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्