ज्येष्ठ नागरिकलाई खोप नदिइएकोमा पूर्वउपकुलपतिहरूद्वारा आपत्ति



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिहरूले कोभिड–१९ विरुद्ध दिइएको खोपमा ज्येष्ठ नागरिकहरूलाई उपेक्षा गरिएकोमा आपत्ति जनाएका छन् । उनीहरुले स्वास्थ्य मन्त्रालयलाई सामाजिक न्यायप्रति संवेदनशील हुन आग्रह गरेका छन् ।
पूर्व उपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी, नवीन प्रकाशजङ्ग शाह र हिराबहादुर महर्जनले बुधवार जारी एउटा गरेको विज्ञप्तिमा संसारभर कोभिड–१९ को खोप दिने प्राथमिकतामा ज्येष्ठ नागरिकहरू पारिएका भए पनि नेपालमा उपेक्षा गरिएको उल्लेख छ ।
विज्ञप्तिमा कथित प्राथमिकतामा नपरेका पहुँचवालालाई समेत खोपको सुविधा पाइसकेको आरोप लगाउँदै शिक्षक तथा विद्यार्थीलाई प्राथमिकतामा राखी खोप दिलाउन माग गरिएको छ । विज्ञप्तिमा लेखिएको छ,‘ शिक्षक–विद्यार्थीहरूको भौतिक उपस्थितिमा स्कुल, कलेज र विश्वविद्यालयका कक्षाहरू सञ्चालनमा आउन लागेपछि प्रत्येक दिन ठूलो सङ्ख्यामा शिक्षक विद्यार्थी र कर्मचारीहरूमा पनि कोरोनाको जोखिम बढ्नु स्वाभाविक हुँदा पनि प्राथमिकताको सूचीमा यो वर्ग नपर्नु भने एउटा विडम्बना नै हो । यसरी सामाजिक नैतिकताको खुलेआम उलङ्घन भएको छ ।’

प्रतिक्रिया दिनुहोस्