केपी ओलीलाई जेल हाल्नुपर्छ : उपेन्द्र यादव



राजविराज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान उल्लंघन गरेको कसुरमा जेल हाल्नुपर्ने बताएका छन् ।
‘कसैले ऐन कानुन उल्लंघन गरेमा कारबाही गरिने व्यवस्था अनुरुप देशको मूल कानुन उल्लंघन गरी प्रतिनिधिसभा विघटन गरेका ओलीलाई जेल हाल्नु पर्छ,’ यादवले भने,‘ओली एण्ड कम्पनीको पतन निश्चत छ ।’
सप्तरीको महदेवा गाउँपालिकाको डाढामा बुधबार आयोजित विरोध सभालाई सम्बोधन गर्दे अध्यक्ष यादवले पतन उन्मुख शासकले चुनाव नगराउने जिकिर गर्दै निर्वाचन आयोगले समेत तमासा गरिरहेको आरोप लगाए । ‘निर्वाचन आयोग पनि सेटिङमा छ,तमासा बनाइरहेको छ,’ यादवले भने,‘लोकतन्त्रलाई नै समाप्त पार्ने सेटिङविरुद्ध जनसेटिङका माध्यमले जनसंघर्ष गरी लोकतन्त्र,गणतन्त्र र संघियतालाई जोगाउनुपर्छ ।’
विपक्षीको विरुद्धमा सतापक्षको ¥याली निकाल्ने कार्य संसारमा कही नदेखिएको बताउँदै उनले सरकारी खर्चबाट सत्तापक्षले ¥याली र सभा गरिरहेको अध्यक्ष यादवले आरोप लगाए । ‘लोकतन्त्रको हत्यापछि निर्वाचनको महत्व रहँदैन,’ उनले भने, ‘प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गरेका छन् ।’ साविकका निरंकुशतावादी र ओलीको साँठगाँठ रहेको आरोप लगाउँदै यादवले प्रधानमन्त्री ओली संकटकाल र सैनिक शासन लगाउने प्रयत्न गरिरहेको दाबी गरे ।
‘जनता सडकमा छन्, सरकार आन्दोलन थेग्न नसके संकटकाल र सैनिक शासन लगाउने सोचमा छ,’ यादवले भने, ‘तर अधिनायकवाद र निरंकुशताकाविरुद्ध जनसंघर्षले ओलीलाई पतनको बाटो देखाउनेछ ।’ प्रतिनिधिसभा भंग गरी काम चलाउ बनेको सरकारले विभिन्न संवैधानिक निकायमा नियुक्ती,कर्मचारी सरुवा र सरकारी कोषमा मनलागि खर्च गरिरहेको उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्