खाना पकाउने ग्याससहित पेट्रोल र मट्टितेलको भाउ बढ्यो



काठमाडौं । खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढेको छ ।
बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।
अब काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेल तथा मटितेलको ९५ रुपैयाँ पुगेको छ । यस्तै एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । निगमले सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको हो ।
हवाई इन्धनको मूल्य हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५.१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । यसअनुसार १५ दिनमा निगमको घाटा ७३.८७ करोड रहने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्