कांग्रेस महासमिति सदस्यलाई एक छाक मात्र खाना



काठमाडौं: गत महाधिवेशन अवधिभर बिहान, बेलुकाको खाना, खाजा र आवाससहित सबै खर्च पार्टीले व्यहोर्दा आर्थिक भार धेरै परेपछि कांग्रेसले मंसिरमा हुने महासमिति बैठकमा एक छाक मात्र खाना दिने भएको छ । खर्च कटौती गर्ने अभियानस्वरूप महासमिति बैठकमा आवास नदिने र बिहानको एक छाक मात्र खाना खुवाउने निर्णय कांग्रेसले गरेको हो ।

 

स्थानीय तयारी समितिका सदस्य भक्तपुर जिल्लाका सभापति दुर्लभ थापाले सोमबारको बैठकले महासमिति बैठकमा बिहानको खाना र दिउँसोको खाजा मात्र पार्टीले खुवाउने र बेलुकाको खाना र बस्ने व्यवस्था महासमिति सदस्य आफैँले मिलाउनुपर्ने जानकारी दिए । ‘पार्टीले यसअघि विधान मस्यौदा सुझाब लिँदा एक छाक मात्र खुवाएर अभ्यास गरिसकेको छ ।

 

यो अभ्यास व्यावहारिक हुने भएकाले महासमिति बैठकमा पनि हामीले बिहानको मात्र खाना खुवाउने निर्णय गरेका हौँ,’ थापाले भने, ‘यसले महासमितिका लागि खर्च कटौती पनि गर्छ । महाधिवेशनमा पनि यस्तै अभ्यासले बाटो खुलाउँछ ।’

 

महासमितिमा देशभरबाट झन्डै एक हजार चार सय प्रतिनिधि सहभागी हुन्छन् । ५ देखि ९ मंसिरसम्म भृकुटीमण्डपमा हुने महासमिति बैठक कांग्रेसमा महाधिवेशनपछिको सबैभन्दा ठूलो कार्यक्रम हो । महासमितिले नेतृत्व चयनबाहेकका महाधिवेशनले गर्ने सम्पूर्ण काम गर्न सक्छ । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्