कांग्रेसले अदालतलाई देखाएर पन्छिन मिल्दैन : रामचन्द्र पौडेल



पोखरा । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उत्कृष्ट, समावेशी, सन्तुलित संविधानलाई केपी ओलीले प्रहार र हमला गरेको अवस्थामा कांग्रेसले अदालतलाई देखाएर पन्छिन नमिल्ने बताएका छन् ।
नेपाल राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको प्रथम सम्मेलन बिहीबार उद्घाटन कार्यक्रममा पौडेलले लोकतन्त्रको संरक्षक र पहरेदार भएर नेपाली जनताको आसा र भरोसाको केन्द्र हुनुपर्नेमा कांग्रेस नेतृत्वले अदालतले के गर्छ ? कसले के गर्छ ? भनेर बसेको आरोप लगाए ।
‘कसले के गर्छ भनेर हेर्ने हो कि लोकतन्त्र रक्षाका लागि आफैं अघि सर्ने र बढ्ने हो ?’ देउवाप्रति लक्षित गर्दै उनले भने, ‘ओलीको कदम लोकतन्त्रमाथिको प्रहार र तानाशाही भएकाले यसको विरोध गर्नु कांग्रेसको कर्तव्य हो ।’ यही बुझेर देशभरका कांग्रेस कार्यकर्ता विरोधमा उत्रिएको तर कांग्रेस पार्टीका नेताले जनतालाई कन्फ्युजनमा पारेर हिँड्ने, र जे मन लायो त्यही बोलेर हिँड्ने भन्दै उनले आक्रोश व्यक्त गरे ।
मुलुकमा आज जे हुन्छ संविधानको अक्षर र भावनाअनुसार हुने भन्दै उनले अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ सोहीअनुसार हुनुपर्ने बताए । ‘संविधानअनुसार हुनुपर्छ भनेर कांग्रेसले किन नभन्ने । चुनाव चुनाव भन्ने’ उनले भने, ‘चुनाव पंचायतमा पनि भएको थियो । जहिले पनि होला, हुन्छ । तर संविधान र लोकतन्त्र बचेमात्र चुनावको अर्थ हुन्छ ।’
५ वर्षसम्म दिएको सरकार चलाउने अधिकारलाई ३ वर्षमै संसद् फालेर सरकार र कम्युनिष्ट भाग्ने ? पार्टीमा झगडा प¥यो भनेर संसदमाथि प्रहार गर्ने अनि यस्तो कुरालाई कांग्रेसले हेरेर बस्न सक्छ ? मुलाइजा गर्न सक्छ ? उनको प्रश्न थियो । कांग्रेस केन्द्रीय समितिले ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भनेर निर्णय गरिसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्