यस्ताे पनि विद्यालय जहाँ कक्षा ३ मा पढ्ने विद्यार्थी अक्षर नै चिन्दैनन्



कपिलवस्तु: दुईकोठे पक्की भवन छ । कक्षा ३ सम्म पढाइ हुने विद्यालयमा विद्यार्थी संख्या जम्मा २० छ । नियमित रूपमा विद्यार्थी मात्र होइन, शिक्षकसमेत आउँदैनन् । कहिलेकाहीँ आउने तीनवटै कक्षाका विद्यार्थी एउटै कोठामा राखेर पढाइन्छ । एउटा कोठामा विद्यार्थी बोरा ओछ्याएर बस्छन् भने अर्को कोठामा कुकुरलगायतका चौपाया बस्छन् ।

यो दुरावस्था हो कपिलवस्तुको महाराजगन्ज नगरपालिका–५ उदयपुरमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालयको । कक्षा ३ सम्मको कक्षा सञ्चालनको अनुमति पाएको सो विद्यालयमा भौतिक र शैक्षिक अवस्था निकै दयनीय छ । शिक्षित मानिसको संख्या निकै कम भएको सो क्षेत्रका बालबालिकाको सिकाइ उपलब्धिको अवस्था निकै नाजुक छ ।

 

बोरा ओछ्याएर कक्षामा बसेका विद्यार्थीको जति दयनीय अवस्था छ, उनीहरूको सिकाइ उपलब्धि पनि उस्तै छ । कक्षा ३ मा पढ्ने मञ्जु कहाँर अक्षर चिन्दिनन् । कहाँरले कखरा भन्न जाने पनि लेख्न र अक्षर चिन्न सक्दिनन् । एउटै कोठामा उनीसँगै बसेकी कक्षा २ की सुन्दरी रैदासले पनि अक्षर चिन्दिनन् । नियमित विद्यालय नआउने उनले पढ्न पनि जान्दिनन् । रैदासले भनिन्, ‘ठूला मान्छे आउँदैछन् भनेर घरबाट सरले बोलाएर ल्याएकोे हो ।’

 

कक्षा १ मा पढनेदेखि ३ सम्मका सबै बालबालिका निरक्षरसरह रहेको बालबालिकाका अभिभावकहरूको गुनासो छ । स्कुल पठाएको तीन वर्ष भयो न पढ्नलेख्न जानेका छन् न केही ज्ञान भएको छ भन्ने अभिभावको गुनासो छ ।

एकजना शिक्षकको तलबबाहेक विद्यालयलाई सरकारले कुनै सुविधा दिएको छैन । शिक्षक तथा फर्निचर व्यवस्था गर्न बजेट विनियोजनका लागि माग गर्दासमेत नगरपालिकाले बेवास्ता गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमनाथ तिवारीको गुनासो छ ।


अवाक परे मेयर

विद्यालयको अवस्था हेर्न महाराजगन्ज नगरपालिकाका प्रमुख अब्दुल कलामसहितको टोली आश्चर्यमा परे । जनप्रतिनिधिसहितको टोली विद्यालयमा पुग्दा शिक्षक प्रेमनारायण यादव हतार–हतार बोर्डमा कखरा लेख्दै थिए ।

जनप्रतिनिधिसहितको टोलीसँग स्थानीयवासीले विद्यालयमा पठनपाठन राम्रो नभएको गुनासो गरे । ‘केटाकेटी स्कुल आउँछन्, शिक्षक आउँदैनन्, घुम्छन्, खेल्छन र घर जान्छन्,’ स्थानीय सुन्दर पाण्डेले भने । शिक्षक र व्यवस्थापनको चरम लापरबाहीले केही विद्यार्थी छिमेकी गाउँमा रहेको विद्यालयमा जाने गरेको पाण्डेले बताए ।


विद्यालय नखुलेको अभिभावकको गुनासो

शिक्षक तथा प्रअ प्रेमनारायण यादव आफैं विद्यालय नियमित नआएकै कारण विद्यार्थीहरू विद्यालय छाड्ने गरेको स्थानीय अभिभावक सुरेका धोबीले बताइन् । ‘हप्तामा ४ दिन स्कुल बन्द हुन्छ , एउटै मास्टर छन् ती पनि आउँदैनन् के पढेर सिक्छन् ?’ उनले प्रश्न गरिन् ।

 

प्रअ यादवले आफू कहिलेकाहीँ नआउने गरेको स्वीकार गरे । ‘विद्यार्थी नै पढ्न आउँदैनन् म मात्र आएर के गर्नु ?’ उनले भने । कक्षा ३ सम्म दरबन्दी भए पनि आफू मात्र शिक्षक रहेको र १० जना विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने गरेको बताए । शिक्षित समुदाय नभएका कारण विद्यालयको दुरावस्था भएको प्रअ यादवको भनाइ छ ।


स्थानीय तहले सहयोग गरेन : विद्यालय व्यवस्थापन समिति

एक महिनाअघि नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ । नयाँ अध्यक्ष होमनाथ तिवारीले विद्यालयको अवस्था क्रमशः सुधार गर्दै जाने बताए । उनले सरकारी विद्यालयप्रति नगरपालिका गैरजिम्मेवार बनेको आरोप लगाए ।

नगरपालिकाले गत वर्ष तलबको एक लाख ८८ हजार अनुदान दिएको थियो । त्यसबाहेकको सुविधा पाएको छैन । नगर प्रमुख अब्दुल कलामले नगरपालिकामा शिक्षाको अवस्था आफूले सोेचेभन्दा फरक रहेको बताए । शिक्षाको विकासमा नयाँ ढंगबाट लाग्ने उनको प्रतिबद्धता छ ।

 


१४ वर्षसम्म बोरामै बसेर पढाइ

दुर्गा भवानी प्रावि ०६१ सालमा स्थापना भएको हो । विद्यालयको भवन, शौचालय गैरसरकारी संस्थाको सहयोगमा बनेका छन् । तर, अहिलेसम्म पनि विद्यार्थी बोरामा बसेर पढ्दै आएका छन् । चिसोमा भुइँमा बस्दा बालबालिका बिरामी पर्ने गरेको अभिभावकहरूको गुनासो छ । – नयाँ पत्रिका दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्