पशुपतिमा महाशिवरात्रिको तयारी सुरु



काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी पनि सुरू गरिएको छ । विगत वर्षमा एक वर्षअघि नै भारतका विभिन्न अखडाबाट साधुसन्त पशुपति क्षेत्रमा आउने गरेकामा यस वर्ष अहिलेसम्म नआएको कोषले जनाएको छ । यस वर्ष फागुन २७ गते महाशिवरात्रि पर्व परेको छ ।
कोरोना महामारीका कारण यस वर्षको महाशिवरात्रिमा विगत वर्षमा जस्तो भीड नहुने अनुमान गरिएको क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए । यद्यपि मन्दिरमा आउने जति भक्तजनलाई भने दर्शन गराउने गरी कोषले तयारी सुरू गरेको छ । भारत र नेपालका विभिन्न अखडाबाट महाशिवरात्रिमा पशुपति आउने साधुसन्तको सूची विगत वर्षदेखि नै पहिले नै कोषमा आउने गरेको छ ।
कोरोना महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि बन्द पशुपतिनाथ मन्दिर यस वर्ष पुस १ गतेदेखि बिहान ६ देखि अपराह्न २ बजेसम्म खुला गरिएको छ । भक्तजनले दिनभर मन्दिर खुला हुनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्