हरेक वर्ष थपिँदै ३० हजार क्यान्सर पीडित, कसरी कम गर्ने यसकाे जोखिम?



एजेन्सीः नेपालमा क्यान्सर भयावह रूपमा देखिदैं गएको छ। मानिसको असन्तुलित खानपान र बदलिँदो जीवनशैलीका कारण क्यान्सरका बिरामीहरूको संख्या दिनप्रति दिन बढ्न थालेको हो। धुम्रपान र मद्यपान गर्नेहरूमा बढी मात्रामा क्यान्सर देखापर्ने गरेको चिकित्सकको अनुभव छ। यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

यदि धुम्रपान र मद्यपान नगर्ने हो भने मात्रै क्यान्सरका बिरामीको संख्या झन्डै ५० प्रतिशतले घट्ने चिकित्सकहरूको भनाइ छ। नेपालमा हरेक वर्ष ३० देखि ३५ हजार क्यान्सरका नयाँ बिरामी थपिने गरेको विभिन्न अध्ययनले देखाएको छ।

क्यान्सर सुरुमा नै पत्ता लगाउन सकिए निको हुने भएकाले विशेष सर्तकता अपनाउन चिकित्सको सुझाव छ तर नेपालमा भने अधिकांश व्यक्ति क्यान्सरको अन्तिम चरणमा पुगेपछि मात्रै अस्पताल जाने गर्दा मृत्यु हुने क्रम बढेको छ।

बिरामीले सुरुकै अवस्थामा सर्तकता अपनाउन नसक्नाले क्यान्सर रोगले भयावह रूप लिदै गएको चिकित्सकको भनाइण् छ । क्यान्सर काउन्सिल नेपालका अनुसार नेपालमा ७५ हजार नागरिक क्यान्सरबाट प्रभावित भएको अनुमान छ।

क्यान्सरबाट प्रभावित हुनेमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ । महिलाको पाठेघरको मुखको क्यान्सर बढी मात्रामा हुने गरेको देखिएको छ। मुख्यतः महिलामा पाठेघरको मुखको क्यान्सर, फोक्सोको क्यान्सर, आन्द्रा, पेटको क्यान्सर र पुरुषमा फोक्सो, घाँटी, आन्द्राको क्यान्सर हुने गर्छ । सुरुकै चरणमा क्यान्सर पत्ता लागेमा निको हुने र अन्तिम चरणमा क्यान्सर हो भनेर पहिचान भएमा प्रभावितलाई बचाउन मुस्किल हुने क्यान्सर रोग विशेषज्ञहरू बताउँछन्।

क्यान्सर रोग विशेषज्ञ डा. आविश अधिकारीले क्यान्सर एक प्रकारको घाउ भएको भन्दै लामो समयसम्म घाउ देखिए तुरुन्त नजिकको अस्पतालमा गएर स्वास्थ्य जाँच गर्नुपर्ने बताए । उनले भने, ‘क्यान्सरको उपचार हुन्छ तर प्रारम्भिक अवस्थामा अस्पताल पुग्नुपर्छ।’

उनले चुरोट सेवन नगर्ने हो भने मात्रै क्यान्सर लाग्ने बिरामीको संख्या अत्यधिक घट्ने बताए ।काउन्सिलका अनुसार क्यान्सर रोकथामका लागि जनचेतनाका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ।

क्यान्सरबाट यसरी बच्न सकिन्छ?

सर्तीजन्य पदार्थ सेवन नगर्ने 

हरियो सागसब्जी खाने

रक्सी सेवन नगर्ने 

शारीरिक व्यायाम गर्ने 

पाठेघरको मुखको क्यान्सरविरुद्ध अविवाहित महिलाले ‘ह्युमन प्यापिलो’मा भाइरसको भ्याक्सिन लगाउने

मासु कम खाने ।

क्यान्सर लाग्दा यस्ता लक्षण देखिन्छन्

दुब्लाउँदै जाने, घाउ लामो समयसम्म सन्चो नहुने, जन्डिस देखापर्ने, शरीरका अंगमा गाँठागुँठी देखिनेजस्ता लक्षण देखिने गर्छन् । यसैगरी, क्यान्सर लाग्दा मुखमा घाउ आउने र दिसामा रगत देखिनेजस्ता लक्षण देखिने गरेको चिकित्सकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्