नेकपा अझै विभाजन नभएको कांग्रेसको निष्कर्ष



काठमाडौं । नेपाली कांग्रेसले नेकपा विभाजन नभएको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले नेकपा विभाजन नभएको निष्कर्ष निकाल्दै सत्ता समीकरणबारे अहिले छलफल गर्ने अवस्था नै बताएको छ ।
बैठकले नेकपाको अबको अवस्था हेरेर अगाडि बढ्ने निर्णय भएको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । उनले नेकपाको अबको यात्रा, संसद् बैठकपछिको परिस्थिति आदि हेरेर मात्रै कांग्रेसले निर्णय लिने जानकारी दिए । अहिले नै सत्ता समीकरणका बारेमा छलफल गर्न हतार हुनेमा पदाधिकारीहरु बैठकका बताए ।
‘कम्युनिस्ट पार्टी कसरी अगाडि बढ्छ? अहिलेसम्म एकै छ, संसदीय दलको नेता ओली जी नै हुनुहुन्छ । यो अवस्थामा भोलि उहाँहरुको पार्टी एकै रहन्छ अथवा अर्को परिस्थिति आउँछ भन्ने कुरा कांग्रेसको नियन्त्रणको कुरा होइन’, महतले भने, ‘अहिले यो सत्ता समीकरणको विषयमा कांग्रेसले यसो गर्छ, उसो गर्छ भन्ने विषय आएको छैन । अब संसदको बैठक होस् परिस्थिति कसरी अगाडि बढ्छ त्यो अवस्थामा नेपाली कांग्रेसले आफ्नो निर्णय लिन्छ ।’
उनले संसद् विघटनको विषय अदालतले उल्ट्याएसँगै सकिएको बताए । सभापति देउवालाई प्रचण्ड–माधव समूहले प्रधानमन्त्री हुन प्रस्ताव गरेकोबारे पत्रकारले राखेको प्रश्नमा उनले त्यसको कुनै अर्थ नरहेको बताए । ‘दलका नेताहरुबीच छलफल हुन्छ, प्रस्ताव आउँछ’, उनले भने, ‘अहिले त्यसको कुनै अर्थ छैन ।’
बैठकको सुरुमै सभापति देउवाले नेकपाका दुवै समूहले कांग्रेससँग सत्ता साझेदारीका लागि प्रस्ताव गरेको जानकारी गराएका थिए । पदाधिकारीहरुले देउवालाई पार्टीको लाइन के हो भन्ने प्रस्ट बनाउन आग्रह गर्दै ओलीसँग सहकार्यको नजिक पुगेको भन्दै आशंका व्यक्त गरेका थिए ।
जवाफमा देउवाले आफूले कुनै पनि समूहलाई बचन दिइनसकेको र नेकपा वैधानिक रुपमा बिभाजन नभएसम्म सहकार्य हुन नसक्ने बताएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्