विषादी हालेर मौरी मारेपछि किसान त्रसित



दाङ :  दाङमा विषादी हालेर किसानको ४४ गोला मौरी मारिएपछि मौरी चराउन पुगेका किसान त्रसित भएका छन् । अन्य किसानका मौरीमा समेत सोही घटना दोहोरिन सक्ने आङ्का किसानमा छ ।

 

नेपाल मौरीपालक महासङ्घले यस्तै अवस्था रहे पेसाबाटै पलायन हुनुपर्ने अवस्था आउने भन्दै व्यवसाय गर्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको छ । 

 

 

महासङ्घका अध्यक्ष शिवप्रसाद पौडेलले चराउन राखिएको मौरीको गोलामा विष हालेर मार्नु किसानविरुद्धको अपराध भएको भन्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न सरकारलाई आग्रह गरे । पौडेलले पीडितलाई उचित क्षतिपूर्ति दिन समेत सरकारसँग माग गरेका छन् । 

 

 

दाङको घोराही उपमहानगरपालिका–१२ सिस्नेरीमा मौरी चराउने क्रममा चितवनको कालिका नगरपालिका–९ का किसान विकास नेपालको ४४ गोला मौरी विषादी हालेर नष्ट गरिएको महासङ्घले जनाएको छ । “मेरो ४४ गोलाभित्रै विष हालेको पाइयो, करिब २२ लाखको क्षति भएको छ, १८ गोला बेचेँ” नेपालले भने। यस्तै अवस्था रहे व्यवसायबाटै हात धुनुपर्ने अवस्था आउने नेपालले दुःखेसो गरे ।

 

महासङ्घका अध्यक्ष पौडेलका अनुसार अन्य मौरीमा क्षति नपुगोस् भनेर कात्तिक ४ गते विषादीले मौरी मरेपछि उक्त घारलाई सोमबार जलाएर नष्ट गरिएको हो । उक्त घटना पहिलो भने होइन । दाङमा पटक पटक यस्ता घटना भइरहेका छन् । विगतमा लक्ष्मी मानन्धरको मौरीका घार समेत यसैगरी नष्ट भएको थियो । 

 

विसं २०७३ मा पनि दाङको रामपुरमा खेम न्यौपाने र विष्णु भुसालको मौरीका गोला यसैगरी नष्ट गरिएको महासङ्घका अध्यक्ष पौडेल बताउँन् । “व्यावसायिक मौरीपालनले गति लिन लागेको बेला यस्ता घटनाले हामीलाई आहत बनाएको छ,” पौडेलले भने, “दोषीलाई कारवाही नगरिए अापराधिक मनोवृत्ति बढ्छ र किसान निरुत्साहित हुन्छन् ।” 

 

दाङ, मौरीको चरनका लागि मुख्य जिल्ला मानिन्छ । चितवन, काठमाडाैंलगायत तराईका जिल्लाबाट अहिले दाङमा मौरी चराउने किसानको भीड छ । तोरी र चिउरी पहिले नै फूल्ने भएकाले दाङमा चितवन, काठमाडाैं, मकवानपुर, सर्लाही, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देहीलगायत जिल्लाका किसान मौरी चराउन पुग्ने गर्छन् ।

 

दाङमा याे मौसममा माैरी चराउन विभिन्न जिल्लाबाट करिब ३० हजार गोला मौरी लगिएको अनुमान छ । 

 

 

चिउरीको मौसममा विभिन्न जिल्लाका किसान चितवनमा पनि मौरी चराउन पुग्छन् । नेपाल मौरीपालक महासङ्घ चितवन शाखा अध्यक्ष रोशन पण्डित बेलाबेलामा यस्ता घटना भइरहेको भन्दै मौरीको सुरक्षा गर्न सरकारसँग आग्रह गर्छन् । 

 

महासङ्घका अनुसार नेपालमा अहिले पाँच हजार पाँच सय व्यवसायिक मौरीपालक किसान छन् । अघिल्लो वर्षको तथ्याङ्कमा नेपालमा दुई हजार चार सय मेट्रिक टन मह उत्पादन भएको छ । 

रासस 

प्रतिक्रिया दिनुहोस्