विजय गच्छदार फेला नपरेपछि घरमै टाँसियो विशेष अदालतको म्याद



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सम्पर्कमा नआएपछि विशेष अदालतले मोरङस्थित उनको निवासमा म्याद तामेल गरेको छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदारलाई अदालतमा उपस्थित हुन भने पनि उनी सम्पर्कमा नआएको विशेष अदालतले जनाएको छ ।
विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले गच्छदार फेला नपरेपछि उनको मोरङस्थित घरमै म्याद तामेद गरिएको जानकारी दिए । गएको फागुन २३ गते विशेष अदालतले ललिता निवास जग्गा अनियमितताको मुद्दामा सुनुवाइ गर्दै १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको थियो । तर गच्छदार अदालतको सम्पर्कमा नआएको प्रवक्ता पाण्डेयले जानकारी दिए । सो प्रकरणमा उपप्रधानमन्त्री रहेका बेला गच्छदार मुछिएका हुन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ माग दाबी गरेको छ । भ्रष्टाचार काण्डमा मुछिएका गच्छदारको सांसद पद निलम्बनमा छ भने उनी केही समययता पार्टी कार्यक्रममा पनि देखिएका छैनन् ।
उक्त मुद्दामा पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा रिहा भइसकेका छन् । पूर्वमन्त्री छविराजसँग अदालतले ५ लाख धरौटी माग गरेको थियो । अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा पठाइएका छन् । मीनबहादुर गुरुङ धरौटी रकम बुझाएर छुटेका छन् । अख्तियारले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्