कांग्रेसले सर्लाही जिल्ला प्रशासन घेराउ गर्ने



सर्लाही : सर्लाही क्षेत्र नम्बर ४ स्थिति रामनगर गाउँपालिका–४ का रामविलास महतोलाई नेकपाका कार्यकर्ताले गोली हानी हत्या गरेको विरोधमा आज कांग्रेसले जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने तयारी गरेको छ ।

 

रामनगर गाउँपालिका–४ मा कांग्रेसका तर्फबाट विजयी वडाध्यक्ष रामनरेश महतोका काका रामविलासलाई हत्या गरिएपछि कांग्रेस उपसभापति विमलेन्द्र निधि, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, प्रदेश सांसद वीरेन्द्र सिंह लगायतको अगुवाइमा हत्याको विरोधस्वरुप प्रशासन कार्यालय घेराउ गर्न लागिएको हो ।

 

कांग्रेसले मंगलबार साँझ विज्ञप्ती जारी गर्दै हत्या र झडपको भत्र्सना गर्दै मृतकलाई सहिद घोषणा गर्न, घाइतेहरुको निःशुल्क उपचार गर्न र घटनामा संलग्न अपराधीलाई कडा कारवाहीकाे माग गरेको छ ।

 

रामनगर गाउँपालिका–४ मा मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो भन सात जना घाइते भएका थिए । सोमबार बिहान सोही वडाका वडाध्यक्ष रामनरेश महतोमाथि भएको कुटपिटको विषयलाई लिएर मंगलबार झडप भएको बुझिएको छ ।

 

बिहान ७ बजे दुई सयको संख्यामा आएका नेकपाका कार्यकर्ताहरुले आएर कुटपिट तथा गोली चलाउँदा वडाध्यक्ष महतोका काका ५५ वर्षीय रामबिलासको मुख र पेटमा गोली लागि घटनास्थलमै ज्यान गएको हो ।

 

घाइते हुनेहरुमा सोही वडाका महदेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेम नारायण महतो, मुकेशप्रसाद महतोलाई गोलीको छर्रा लागि घाइते भएका स्थानीय प्रेम सिंहले जानकारी दिए ।

 

झडपका क्रममा १० वटा घरमा समेत तोडफोड भएको छ । सोमबार बिहान सोही वडाका वडाध्यक्ष रामनरेश महतोलाइ नेकपाका कार्यकर्ताले कुटपिट गर्दा घुँडा भाचिएको र टाउकोमा गम्भीर चोट लागेर घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्