गण्डकीमा माओवादीका दुई मन्त्रीद्वारा राजीनामा



काठमाडौं । गण्डकी प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएका हुन । पार्टीको निर्देशनमा उनीहरुले राजीनामा दिएका हुन । उनीहरूले बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेर राजीनामा बुझाएका हुन् ।
गण्डकी प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुईजना मात्र मन्त्रीहरू थिए । उनीहरूले राष्ट्रिय राजनीतिलाई मध्यनजर गर्दै राजीनामा दिएको बताएका छन् ।
मन्त्रीहरूले राजीनामा दिए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । राजीनामाबारे संसदीय दलको तर्फबाट कानुनमन्त्री रहेका चुमानले प्रदेशसभा बैठकमा जानकारी गराउने छन् ।
यसअघि बुधबार बिहान बसेको गण्डकी प्रदेश संसदीय दलको बैठकले सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री र थापालाई फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता रामजी बरालले जानकारी दिए ।
उनले मन्त्रीहरुले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन भने यथावत नै राखेको बताए । ‘मन्त्रीहरुले राजीनामा दिए पनि सरकारले दिएको समर्थन भने तत्काल फिर्ता हुँदैन्’, उनले भने ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ र माओवादी केन्द्रका १२ सांसद छन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि उसको नेतृत्वमा तत्काल सरकार बन्ने अवस्था छैन । एमाले एक्लैको बहुमत नपुगे पनि उसले राष्ट्रिय जनमोर्चालाई साथमा लिएमा सरकार जोगिन्छ । गण्डकीमा राजमोका ३ सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्