‘प्रधानमन्त्री ओलीलाई जसपाले समर्थन गर्ने सम्भावना छैन’



काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) दुई धारमा विभाजित भइरहेका बेला जसपाका नेता महेन्द्र राय यादवले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा आन्दोलन गरेका शक्तिहरू मिलेर नयाँ गठबन्धन बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई जसपाले असंवैधानिक भनेको, अहिलेसम्म त्यो निर्णय परिवर्तन नभएका र प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन गरेकाले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा आन्दोलन गरेका शक्तिहरू मिलेर नयाँ गठबन्धन बनाउनुपर्ने बताए । उनले ओली नेतृत्वमा रहेका प्रतिगमनकारीसँग गठबन्धन नहुने उनले बताए। “हामीले प्रतिनिधि सभा विघटनलाई प्रतिगामी कदम भनेका थियौं । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई सच्याएको छ। यो राम्रो पक्ष हो,’ नेता यादवले भने, ‘पार्टीको निर्णयविपरीत कसले के गर्छ, के बोल्छ ? कोसँग भेटघाट गर्छ भन्ने कुराले ठूलो अर्थ राख्दैन।’

सरकार गठनकै बेला समर्थन दिए पनि प्रधानमन्त्री ओलीले कुनै मागलाई सम्बोधन नगरेकोले समर्थन फिर्ता लिएको कुरा उनले स्मरण गराए।
‘जतिबेला संविधान संशोधनका लागि दुई तिहाइ पुग्थ्यो त्यो बेलामा कुनै चासो भएन। अहिले दलहरूका बीचमा सहमति जुटाउन कठिन छ,’ उनले भने,’आफ्नो सत्ता जोगाउन प्रधानमन्त्री ओलीले हाम्रा माग पूरा गर्छु भनेर हुँदैन। हामीले प्रधानमन्त्री ओलीलाई साथ दिने कुनै निर्णय गरेका छैनौं र गर्ने सम्भावना पनि निकै कम छ।’

जसपाभित्र प्रधानमन्त्री ओलीको गठबन्धनमा जाने वा कांग्रेस(माओवादी गठबन्धनमा जाने भन्नेमा दुई धार देखिएको छ। अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहितका पूर्वराजपा पक्षधर ओलीसँग निकट छन्। संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलगायतका पूर्व संघीय समाजवादी फोरम पक्षधरहरू कांग्रेस(माओवादीसँग गठबन्धन गर्ने पक्षमा छन्।

प्रतिक्रिया दिनुहोस्