‘अविश्वासको प्रस्तावबाट डराएको छैन, सामना गर्न तयार छु’



पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अविश्वास प्रस्तावसँग डराएर आफू नभाग्ने बरु डटेर सामना गर्ने बताएका छन । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न काँग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जसपा र राजमोले सहमति गरेपछि उनले बुधबार मध्यराति प्रदेशसभा अधिवेशन अन्त्यको सिफारिस गरेका हुन् । अविश्वास प्रस्ताव छल्न अधिवेशन अन्त्य गरेपछि चौतर्फी आलोचना भइरहेका बेला उनले आफू डराएर नभागेको प्रतिक्रिया दिए ।

‘विपक्षीहरुको तयारीबारे म जानकार नै छु, अपवित्र गठबन्धन गरेर कम्युनिस्ट नेतृत्वको सरकार ढाल्ने प्रयास भइरहेको छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘यदि सरकारका विरुद्ध प्रस्ताव आए सामना गर्न म तयार छु । डराएर भाग्ने कुरा हुँदैन ।’ राजनीतिका नाममा विपक्षीहरुले फोहोरी खेल खेलेको आरोप लगाउँदै उनले भने, ‘राजनीतिका नाममा फोहोरी खेल खेलिँदैछ, यो राम्रो होइन । मेरो नेतृत्वको सरकार के कुरामा कमजोर भयो ? के काम गर्न सकेन ? त्यसको जवाफ उनीहरुसँग छैन ।’

आफ्ना कारणले मोर्चाबन्दी गर्नुपर्ने कारण नरहेको भन्दै गुरुङले त्यस्तो कारण भए दिन चुनौतीसमेत दिएका छन् । ‘मेरा कारणले अर्थात पृथ्वी सुब्बा गुरुङका कारणले मोर्चाबन्दी गर्नुपर्ने एउटामात्रै तर्क दिन म उहाँहरुलाई चुनौती दिन्छु’, गुरुङको चुनौती छ । मुख्यमन्त्री गुरुङले केपी ओलीको प्रतिगमनलाई सघाएको विपक्षीहरुले आरोप लगाएका छन् । तर, प्रतिगमनलाई सघाएको भन्ने आरोप आफूमाथि लगाइए पनि बरु आफ्नो सरकारविरुद्ध मोर्चाबन्दी गरेर काँग्रेस, माओवादी र जनमोर्चा नै प्रतिगमनको यात्रामा लागेको मुख्यमन्त्री गुरुङको प्रत्यारोप छ । ‘उहाँहरु जे गर्न लाग्दै हुनुहुन्छ, त्यो चाहिँ प्रतिगामी कदम हो । काँग्रेस, एमाले, राष्ट्रिय जनमोर्चा मिलेर जे गर्न खोज्दैछन्, त्यो काम बरु प्रतिगामी हो’, गुरुङले भने, ‘यो सरकार वामपन्थीको होइन ? माओवादी र जनमोर्चाले समर्थन गरेको होइन ? अनि यस्तो वामपन्थीको सरकार ढालेर अर्को गैरवामपन्थीहरुको सरकार बनाउनु खोज्नुचाहिँ प्रतिगमन हो ।’

मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्तावको सामना गर्न तयार रहेको भन्दै प्रस्ताव असफल हुनेमा आफु विश्वस्त रहेको बताए । ‘म अविश्वास प्रस्तावबाट भाग्दिनँ, राजनीतिमा जीत–हार स्वभाविक हो । प्रकृयामा गएपछि सबैले त्यसलाई स्वीकार गर्नुपर्छ’, गुरुङले भने । ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् । सभामा काँग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ सांसद छन् । नयाँ सरकार गठनको पक्षमा उभिएका दललाई जनमोर्चाले पनि साथ दिएपछि सदस्य संख्या ३२ पुग्छ र मुख्यमन्त्री गुरुङको बहुमत गुम्छ ।

प्रतिक्रिया दिनुहोस्