संसद अधिवेशन अन्त्य, शहरी क्षेत्रका विद्यालय बन्द



काठमाडौं : सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । मन्त्रिपरिषदका एक सदस्यले भने, ‘आज दिउँसो १ बजेबाट अधिवेशन अन्त्यको निर्णय गरिएको छ ।’ जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले अधिवेशन अन्त्यको निर्णय गरिएको ती मन्त्रीले बताए ।

हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुने छ । त्यसको मिति पनि सरकारको सिफारिसमा राष्ट्रपतिले नै तोक्ने व्यवस्था छ । संसद पुनर्स्थापना भएपछि गत फागुन २३ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते विघटन गरेको संसदलाई पुनर्स्थापना गर्न सर्वोच्च अदालतले फागुन ११ गते आदेश दिएको थियो ।

यसैबीच, सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढदो अवस्थामा रहेकाले तत्काल शहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइनमार्फत पठन पाठन सुचारु गर्ने निर्णय गरेको बताइएको छ । यस्तै, मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्