लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता (पत्रसहित)



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।
नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमबार अविश्वास प्रस्ताव दर्ता गराएका हुन । जसपा संसदीय दलका नेता सहसराम यादवले भने, ‘मुख्यमन्त्रीविरुद्ध तीन दलले अविश्वासको प्रस्ताव दर्त गरेका छौं ।’ यादवले भने, ’नयाँ मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।’ केसी पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला मन्त्री हुन्।
४१ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको छ । लुम्बिनी प्रदेशसभामा ८७ सांसद छन् । बहुमतका लागि कम्तीमा ४३ सांसद आवश्यक पर्छ ।
जसमध्ये नेपाली काँग्रेसका २०, माओवादी केन्द्रका सभामुखबाहेक १७ र जसपा नेपालका ६ सांसद छन् । जनमोर्चाका १ जना सांसद छन् । माओवादी केन्द्र छोडेर एमालेतिर लागेका दुई जना सांसदको पद खारेज भएको छ । यता, सत्तारुढ नेकपा एमालेका ४१ सांसद छन् । तर एमालेभित्र केपी ओली र माधव नेपाल पक्षबीच एकता नरहेकाले ‘फ्लोर क्रस’ हुने खतरा छ ।
यद्यपि, मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन सक्ने उनी निकट सांसदहरूले दाबी गरेका छन् । किनकि विश्वासको मत लिन पोखरेललाई तीन जना सांसद आवश्यक रहेकाले उनले जसपाका तीन र जनमोर्चाका एक सांसदको समर्थन पाउने दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्