पुष्पले ३० लाख पाउलान् ?



काठमाडाैं : म्युजिक भिडियोमा राम्रो विकेका र चलेका अनुहार हुन्, अभिनेता पुष्प खड्का। ३ सयभन्दा बढी भिडियोमा उनले नृत्य प्रस्तुत गरिसकेका छन्। फिल्म 'अझै पनि' मा उनले सहायक भूमिका निभाएका थिए। 

भेट्रान निर्देशक तुलसी घिमिरेले उनलाई 'दर्पण छायाँ २' मा लिड रोलमा ब्रेक दिए। यो फिल्मले हलमा हावा खायो। न उनको अभिनयकै प्रशंसा भयो।  तेस्रो फिल्म 'मंगलम' भने उनका लागि सञ्जीवनी बुटी साबित भएको थियो। फिल्मले बक्सअफिसमा राम्रै पैसा छाप्यो।

उनको अभिनयको जोडतोडले प्रशंसा भयो। यो फिल्मपछि उनले केही अन्य फिल्ममा सहजै काम पाए। अहिले उनकाे 'दाल भात तरकारी' प्रदर्शनरत छ। पाँचौ फिल्म 'मारुनी' को केही दिनअघि मात्र छायांकन सकिएको छ। केही दिनयता एक फिल्ममा महँगो पारिश्रमिक डिमाण्ड गरेपछि उनी चर्चामा छन्।  

 

एक नयाँ फिल्ममा उनले ३० लाख पारिश्रमिक मागेका छन्। यो कुरा उनी स्वयं स्वीकार गर्छन्। आजसम्म आफ्नै बलबुतोमा कुनै फिल्म सफल बनाएर देखाउन नसकेका पुष्पले एक्कासि छोइनसक्नु पारिश्रमिक माग्न थालेपछि धेरै फिल्मकर्मीको होस् उडेको छ। उनले ३० लाख डिमाण्ड गर्ने हिम्मत जुटाउनुको पछाडि 'दाल भात तरकारी' थियो। किनकि, यो फिल्म सफल हुनेमा उनी कन्फिडेन्ट थिए ।  

 

तर, दर्शकले 'दाल भात तरकारी'मा नुन चर्को भएको भन्दै ग्रहण गर्नै मानेनन्। फिल्म जेजस्तै भए पनि ३० लाख माग्ने पुष्पको भूमिकाचाहिँ दमदारै होला भन्ने धेरैको अपेक्षा थियो। तर, उनको भूमिकाले फिल्ममा पुर्याएके येगदानबाट उनले ३० लाख माग्ने हैसियत राख्न नसकिने स्वयं फिल्मकर्मी नै बताउँछन्। यो फिल्मले पुष्पको करिअरलाई ठूलो ‘ब्याक फायर’ गर्ने कतिपयको तर्क छ। 

'दाल भात तरकारी'मा उनको ३ हजार पचाउने अभिनय पनि नभएको फिल्मवृतमा टीकाटिप्पणी भइरहेको छ। यो फिल्मको असफलताले यतिबेला पुष्पलाई ३० लाख निल्नु न ओकल्नुझैँ भएको छ। न उनलाई अब ३० लाख पचाउन सजिलो हुनेछ न त त्योभन्दा कममा अरु फिल्म गर्नै। 

प्रतिक्रिया दिनुहोस्