पत्रकारलाई किन रुचाउँदिन सभापति श्रेष्ठ ?



काठमाडाै‌ं: सरकारले मिडिया काउन्सिल विधेयकमार्फत संचारमाध्यमलाई अंकुस लगाउन खोजेको भनेर सर्वत्र आलोचना भइरहँदा संसदको एउटा समितिले भने संचारकर्मीलाई औपचारिक बैठकस्थल प्रवेशमा रोक लगाएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको विहिबार बसेकोे बैठकमा पत्रकारलाई प्रवेश निषेध गरिएको हो । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्वन्धमा ब्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको हो ।

मिनी संसद्को रुपमा लिइने संसदीय समितिका हरेक बैठकका गतिविधिको समाचार संकलन सञ्चार माध्यमले निर्वाध रुपमा गरिरहेका छन् । तर, संघीय संसदको राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठ पोखरेलले समितिमा भएको सार्वजनिक महत्वका बिषयमा भएका छलफलमा समेत पत्रकारलाई निषेध गर्ने गरेकी छन् ।

तत्कालिन नेकपा माओवादी केन्द्रको तर्फबाट समानुपातिकतर्फ सांसद बनेकी पोखरेलले समितिको बैठकमा बारम्बार पत्रकारलाई सूचना संकलन गर्न दिएकी छैनन् ।

संविधानले तोकेका आमसञ्चारको अधिकार र कर्तब्यप्रति ख्याल नगरी समिति सभापति पोखरेलले समाचार संकलनमा बाधा गरेकी छन् । प्रचलित कानुन र नियमावलीले निषेध गरेको बिषयमावाहेक सूचना संकलनमा रोक लगाउने समितिको यस्तो व्यवहारको संसदीय मामिला पत्रकार समाजले समेत खेद व्यक्त गरेको छ ।

समिति सभापति डा.अमरेश कुमार सिंहले समिति सभापतिले सरकारको कमीकमजोरीका बारेमा सांसदहरुले आवाज उठाउने भएकोले त्यसलाई रोक्न पत्रकारलाई प्रवेशमा निषेध गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्