बादल र देवकोटाले गरे उम्मेदवारी दर्ता



हेटौंडा : वाग्मती प्रदेशबाट राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले उम्मदेवारी दिएका छन् ।

प्रदेश राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार बादल र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । बादलको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत छन् । स्वतन्त्र उम्मेदवार देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेपाल समूहको समर्थन छ ।

देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले छन् । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन् । राष्ट्रियसभामा वाग्मती प्रदेशको अन्य समूहबाट निर्वाचित रामबहादुर थापा बादलले आफू निर्वाचित भएको दल नेकपा माओवादी केन्द्र परित्याग गरेपछि उनको स्थान रिक्त भएको थियो । सोही ठाउँमा यही जेठ ६ गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्