बढी मूल्यमा अक्सिमिटर बेच्ने औषधि व्यवसायी पक्राउ



वीरगञ्ज । कोरोना महामारीको बेला पल्स अक्सिमिटरको कालोबजारी गर्ने एक औषधि व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । महामारीमा मौकाको फाइदा उठाउँदै तीन गुणा बढी मूल्यमा अक्सिमिटर बेच्ने वीरगन्ज महानगरपालिका–१६ नगवाका ३२ वर्षीय रामहरी तिवारीलाई प्रहरीले पक्राउ गरेको हो ।
तिवारीलाई एकहजार नौ सय पर्ने अक्सिमिटरलाई साढे तीनहजार बढी मूल्यमा बिक्री गरेको आरोपमा पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।
तिवारीले आफ्नै घरमा औषधि पसल राखेर कालोबजारी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्त तिवारीलाई कालोबजारी सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको खनालले जानकारी दिए ।
कोरोनाले गाँजेको वीरगन्जमा अक्सिमिटर बिक्री गर्दा कालोबजारी गर्ने तिवारीको पसलमा छापामार्दा थप १२ थान अक्सिमिटर पनि फेला परेको प्रहरीले जनाएको छ । वीरगन्जका अन्य धेरै औषधि पसलमासमेत अक्सिमिटर र औषधिमा कालोबजारी भइरहेको उपभोक्ताको गुनासो छ ।
कालोबजारी ऐन अनुसार कसुर गरेको ठहर भएमा एक वर्ष कैद र दुईलाख ५० हजार जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्