शिक्षक नआउँदा विद्यालय छाड्दै विद्यार्थी



जाजरकोट : त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली डोल्पाको महाकवि देवकोटा आधारभूत विद्यालयमा ६ शिक्षकको दरबन्दी छ। तर, विद्यालय भने तीन शिक्षकले चलाउँदै आएका छन्।

प्रधानाध्यापक पुष्पराज महत र सोही विद्यालयमा शिक्षिका रहेकी उनकी श्रीमती छोराको विवाहमा गएको लामो समय बिते पनि अहिलेसम्म विद्यालयमा फर्केका छैनन्। त्यस्तै, अर्का शिक्षिका चन्द्ररुपा थापाले फागुनदेखि अहिलेसम्म विद्यालयमा पाइला टेकेका छैनन्।

थापाले अघिल्लो वर्षसमेत आठ महिना विद्यालय नआएर तलब खाएको स्थानीयवासीले बताएका छन्। प्रधानाध्यापक र उनकी श्रीमती छोराको विवाहमा महिना दिनअघि गएको र अहिलेसम्म विद्यालय नआएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पन्न नेवारले बताए।

शिक्षक विद्यालयमा नआउँदा दैनिक पढाइ प्रभावित हुँदै आएको छ। विद्यालयमा नियमित पढाइ नहुँदा र शिक्षकको लापरवाहीको सिकार हुँदा यहाँ पढ्ने विद्यार्थी नजिकै रहेको त्रिपुराकोट मावि मदुमा गएर पढ्न बाध्य भएको विद्यार्थी राम थापाले बताए।

प्रधानाध्यापक र उनकी श्रीमतीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। विद्यालयमा नपढाउने शिक्षकलाई तलब कसरी दिइन्छ त ? भन्ने प्रश्नमा त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख ओमबहादुर बुढाले भने, ‘प्रक्रियावद्ध रूपमा विद्यालय र वडा कार्यालयबाट सूचना र प्रमाण पेश गरेमा तत्काल त्यस्ता शिक्षकको तलब रोकिने छ।’

स्थानीय सरकार गठन भएसँगै  स्थानीय सरकारले सबै हेर्दै आएकाले विद्यालय अनुगमनमा समस्या देखिएको शिक्षा विकास तथा समन्वय एकाइ डोल्पाका प्रमुख सिंहराज डाँगीले बताए। यो त प्रतिनिधिमूलक घटना मात्र हो, डोल्पाका अधिकांश विद्यालयमा  शिक्षकले  विद्यालयमा पढाउने भन्दा पनि व्यक्तिगत काममा समय खर्चिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्