कुश्मा नगरपालिकाद्धारा कार्यालय कब्जा



पर्वत– कुश्मा नगरपालिकाले खाली भएका कार्यालय कव्जा गरेको छ । नगरपालिकाले खाली भएका कार्यालय कव्जा गरेर बिषयगत कार्यालयहरु व्यवस्थापन गर्न सुुरु गरेको छ । नगरपालिकाले साविकको पशुसेवा कार्यलय र सिप विकास कार्यालयमा नगरपालिका अन्तर्गतको मातहतमा रहेका बिषयगत कार्यालयहरु स्थापना गरेको छ । कुश्मा नगरपालिका हालको एकता चोकमा रहदाँ कार्य सम्पादनमा समस्या हुदै आएको थियो । 

कार्यपालिका बैठकले पटक पटक साविकको जिल्ला विकास समितिमा स्थानातरणको पहल गरे पनि आफ्नो कार्यालय स्थापना गर्न नसकेपछि अन्य साविकका सरकारी कार्यालयहरुमा विषयगत कार्यालय स्थानान्तरण गर्न थालेको हो । नगरपालिकाको भवन साँघुरो हुँदा बिषयगत कार्यालयहरुबाट थुप्रै कर्मचारीहरु आउँदा कुर्ची राख्न पनि समस्या छ । प्रमुख प्रसासकिय अधिकृत सुवासकुमार लामिछानेले अब यही तरिकाले बिषयगत कार्यालयहरु स्थापना गर्ने बताउनुभयो । ‘ खाली भएका कार्यालयमा विषयगत कार्यालय स्थानान्तरणको विकल्प छैन,’लामिछानेले भन्नुभयो,‘ प्रदेश सरकारको अनुमती लिएर कार्यालय स्थान्तरण गरेका हौँ ।’ कुश्मा नगरपालिकामा हाल कृषि ,पशु शिक्षा,स्वास्थ्य,रोजगार सुचना केन्द्र,महिला तथा वालवालिका कार्यालयमा बिषयगत कार्यालयका कर्मचारी झोलामा कागजजात बोकेर कार्य सम्पादन गर्न बाध्य छन् । 

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले साविकको जिल्ला विकास समितिको कार्यालय नगरपालिकालाई उपलब्ध गराउन माग गरेपनि सुनुवाई नभएको बताउनुभयो । ‘ संघीय सरकार मातहतका कार्यायल खाली हुने, नगरपालिका भाडामा बस्ने अल्लि सुहाएन,’ जोशीले भन्नुभयो,‘ त्यहि भएर हामीले विषयगत कार्यालय रोजेका हौँ ।’ जोशीका अनुसार वडाहरु पनि खाली रहेका कार्यालयमै व्यवस्थापन गर्ने तयारी भएको छ । लचिलो अवस्था नबनेपछि नगरपालिका बल मिचाईमा पुगेको नगरकार्यपालिका सदस्यहरुले बताएका छन् ।  

कुश्मा नगरपालिका समेत भाडाको घरमा सञ्चालनमा रहेको छ । मासिक २० हजार भाडा तिरेर बसेको नगरपालिकामा कोठाको अभाव रहेको छ । वस्तुगत वास्तविकतामा रहेर कुश्मा नगरपालिका अन्तर्गतका बिषयगतका शाखाहरु स्थापना गर्ने नगरपालिकाले जानकारी दिएको छ । कुश्मा नगरपालिका ५ का वडाध्यक्ष चित्रकला शर्माका अनुसार कुश्मा नगरपालिकाले प्रदेश सरकारसंग छलफल गरेर खाली रहेका साविकका कार्यालयहरुमा बिषयगत कार्यालयहरु स्थापना गर्दैछ । एक हप्ताभित्रमा नगरपालिकाका कार्यालय स्थानान्तरण भैसक्ने उहाँले बताउनुभयो । कुश्मा नगरपालिका ४, ५ ,६ र ७ वडा कार्यालय पनि भाडाको साँघुरो कोठामा चल्दै आएको शर्माले बताउनुभयो । नगरपालिकामा बिषयगत कार्यालयहरुको काम लिएर जाँदा धेरै नगरवासीहरुले आफ्ना कामहरु सहजै गर्न सकेका छैनन् ।

साविकको जिल्ला शिक्षा,पशु सेवा कार्यालय,खानेपानी तथा सरसफाई कार्यालय,सीप विकास कार्यालय, शिक्षा कार्यालय, बन कार्यालय, भूसंरक्षण कार्यालय, सिँचाई कार्यालय संघीय सरकारले खारेज गरेको थियो । अहिले साविकको कृषि कार्यालयमा बाग्लुङ र पर्वत जिल्ला हर्ने गरेर कृषि ज्ञान केन्द्र स्थापना भएको छ । सिँचाई कार्यालय, बन कार्यालय र भूसंरक्षण कार्यालय प्रदेश मातहत स्थापना भैसका छन् । शिक्षा कार्यालयमा भूकम्प पुननिर्माण कार्यालय बसेको छ । पशु सेवा कार्यालयमा प्रमुख जिल्ला अधिकारीको निवास छ । महिला तथा वालवालिका कार्यालयमा जिल्ला समन्वय समितिका उपप्रमुख यामकुमारी रानाको निवास व्यवस्थापन गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्