महाेत्तरी र राैतहटमा पाँच जनाकाे शव फेला



गौशाला :  महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा बुधबार तीन जनाको शव बरामद भएको छ । 

 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरीको विभिन्न तीन स्थानमा विभिन्न घटनामा बुधबार तीन जनाको मृत्यु भएको अवस्थामा शव बरामद भएको हो । 

 

उनका अनुसार जिल्लाको लोहारपट्टि नगरपालिका–३ महदैया गाउँमा स्थानीय रामसोगारथ यादवको भुस राख्ने घरको बरण्डामा जनकपुर उपमहानगरपालिका–२१ बस्ने महाजन मण्डलका छोरा ३९ वर्षीय मखन मण्डलको शव बरामद भएको हो । 

 

त्यस्तै जिल्लाको महोत्तरी गाउँपालिका–१ पर्सा टोलस्थित बाँसघारीमा स्थानीय ८० वर्षीय तपसी ठाकुर बरहीको शव डोरीको पासो लगाई झुण्डिरहेको अवस्थामा फेला परेको हो । 

 

त्यसैगरी जिल्लाको गौशाला नगरपालिका–११ मा ढोलन खोला किनारमा रहेको आँप बगैँचामा स्थानीय भोला महतोको छोरा १६ वर्षीय सचिनकुमार महतोको आँपको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिरहेको अवस्थामा शव फेला परेको प्रहरी नायव उपरीक्षक खड्काले बताए । 

 

मृतक तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लगिएकाे छ ।

 

त्यसैगरी रौतहटकाे छुट्टाछुट्टै स्थानमा दुई जना पुरुषको शव बरामद भएको छ । गौर चन्द्रपुर सडकखण्डको गरुडा नगरपालिका–८ जिंगडिया टोल र माधवनारायण नगरपालिका–६ मा एक–एक गरी दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । 

 

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुर्भुज ओझाका अनुसार गौर चन्द्रपुर सडकखण्डअन्तर्गत जिंगडिया नजीक मूल बाटो छेउको नालामा डुबेको अवस्थामा अन्दाजी ३५ वर्षका पुरुषको शव आज फेला परेको हो ।

 

माधवनारायण नगरपालिका–६ माधोपुर गाउँ छेउमा जोतेको खेतमा अन्दाजी २५ वर्ष उमेरका एक पुरुषको घोप्टो अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक ओझाले जानकारी दिए ।

 

मृतकको पहिचान खुल्न नसकेको तथा शवपरीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार माधोपुर गाउँ छेउमा मृत फेला परेका युवकको घाँटीमा नीलडाम देखिएको छ । प्रहरी निरीक्षक ओझाले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र शवपरीक्षणको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्