लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै



बुटवल : लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिनमै विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामाको मागलाई चर्काउने रणनीति बनाएका छन् ।

दुई दिनअघि सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचन परिणामले सरकारले बहुमत गुमाइसकेकाले प्रमाणित भएको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने विपक्षीको तर्क छ । त्यसो नभए गत वैशाख १९ गते नेकपा एमालेको एकल बहुमतको दाबीसहित संविधानको धारा १६८ (१) अनुसार पुनः नियुक्त भएका मुख्यमन्त्री पोखरेलले आजै विश्वासको मत लिएर बहुमत पुष्टि गर्न विपक्षीले चुनौती दिने रणनीति बनाएका छन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले मुख्यमन्त्रीविरुद्ध गत वैशाख २६ गते प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावबारे पनि विपक्षी गठवन्धनले आवाज उठाउने बताए । नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले पनि आजको वैठकमा मुख्यमन्त्रीको राजीनामा वा विश्वासको मत लिनुपर्ने माग उठाउने बताए

पोखरेल दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएको आज ३० दिन पुग्ने भएकाले विपक्षीले आजै विश्वासको मत लिनुपर्ने माग उठाउने कांग्रेस प्रमुख सचेतक खानले बताए । वैधानिकता गुमाइसकेको अल्पमतको सरकारलाई आफूहरुले वजेट ल्याउन नदिने पनि उनले खुलाए ।
प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बुधवारको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनेदेखि दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने गरी कार्यसूची तय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्